काठमाडौं- पाकिस्तानमा गरिबी तीव्र रूपमा बढेको विश्व बैंकको ताजा प्रतिवेदनले देखाएको छ। ‘रि–क्लेमिङ मोमेन्टम टुवाड्र्स प्रोसपेरिटीः पाकिस्तान्स पभर्टी, इक्विटी एन्ड रेजिलियन्स असेस्मेन्ट’ शीर्षकको रिपोर्टअनुसार हाल मुलुकको गरिबी दर २५.३ प्रतिशत पुगेको छ।
पछिल्ला तीन वर्षमा मात्र गरिबी दर ७ प्रतिशतले वृद्धि भएको जनाइएको छ। कोभिड–१९ को महामारी, उच्च मुद्रास्फीति, विनाशकारी बाढी र आर्थिक अस्थिरता प्रमुख कारण भएको प्रतिवेदनमा उल्लेख छ।
सन् २००१/०२ मा पाकिस्तानमा गरिबी दर ६४.३ प्रतिशत थियो, जुन २०१८/१९ मा घटेर २१.९ प्रतिशतमा झरेको थियो। तर, २०२० पछि उक्त दर फेरि बढ्न थालेको हो। विश्व बैंकका अनुसार अघिल्लो गरिबी घटाउने मोडेल अब समाप्त भइसकेको छ। उपभोग-केन्द्रित आर्थिक वृद्धि तथा कृषि बाहेकका क्षेत्रमा रोजगारी बढेको कारण अघिल्लो समय गरिबी घटेको थियो।
हाल रोजगारी सिर्जनामा अवरोध देखिएको र मुलुकमा आवश्यक संरचनात्मक रूपान्तरण हुन नसकेको प्रतिवेदनमा उल्लेख छ। अनौपचारिक रोजगारीको हिस्सा ८५ प्रतिशतभन्दा बढी रहेको, महिलाहरू तथा युवाहरू श्रम बजारबाट बाहिर रहेका कारण समेत समावेशी आर्थिक विकासमा चुनौती देखिएको छ।
विश्व बैंकले पाकिस्तानमा सामाजिक विकासका सूचकहरू पनि कमजोर रहेको जनाएको छ। करिब ४० प्रतिशत बालबालिका कुपोषण (स्टन्टिङ) बाट पीडित छन् भने चौथाइ बालबालिका अझै पनि विद्यालय बाहिर छन्। विद्यालय जाने मध्ये पनि तीन चौथाइले आधारभूत पढ्न लेख्न नसक्ने अवस्था छ।
सन् २०१८ सम्म पाकिस्तानका आधा मात्र परिवारले सुरक्षित खानेपानीमा पहुँच पाएका थिए भने झन्डै एक तिहाइ परिवारसँग सुरक्षित सरसफाइको सुविधा थिएन। ग्रामीण क्षेत्रको गरिबी दर शहरी क्षेत्रको तुलनामा दोब्बरभन्दा बढी रहेको र दशकौँदेखि पछि परेका जिल्लाहरूमा खासै सुधार नदेखिएको रिपोर्टमा उल्लेख छ।
विश्व बैंकले गरिबी घटाउन पाकिस्तानले अब दीर्घकालीन, समावेशी र संरचनात्मक सुधारमा प्राथमिकता दिनु आवश्यक रहेको चेतावनी दिएको छ। अन्यथा, गरिबी र सामाजिक असमानता झनै गहिरिन सक्ने उल्लेख गरिएको छ।