काठमाण्डौ, साउन २४
बङ्गलादेशमा गठन हुने अन्तरिम सरकारका सदस्यहरुले आज शपथ ग्रहण लिने तयारी छ ।
नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको सल्लाहकार
परिषद्ले आज शपथ लिने तयारी भइरहेको बङ्गलादेशका सेना प्रमुख जनरल वाकर जमानलाई
उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
आज
बेलुकी ८ बजे सपथ ग्रहणको कार्यक्रम हुनेछ । सल्लाहकार परिषद् १५ सदस्यीय हुने
सम्भावना रहेको सेना प्रमुखको भनाइ छ । सेना प्रमुख वाकरले तीनदेखि चार दिनभित्र
बङ्गलादेशको परिस्थिति सामान्य हुने पनि बताउनुभएको छ ।
विद्यार्थीले
थालेको आरक्षणविरुद्धको आन्दोलनले हिंसात्मक रुप लिँदा प्रधानमन्त्री शेख हसिनाले
राजीनामा दिँदै देश छाडेपछि सेना प्रमुख वाकरले अन्तरिम सरकार गठन गर्न अग्रसरता
लिनुभएको थियो । त्यसपछि आन्दोलनरत विद्यार्थीको मागअनुसार नोबेल पुरस्कार विजेता
युनुसको नेतृत्वमा सरकार गठन हुन लागेको हो ।