काठमाडौं, माघ ३०
सरकारले बीमा नियमावली, २०८१ स्वीकृत गरेको छ । २८ माघमा बसेको मन्त्रिपरिषद् बैठकले बीमा नियमावली, २०८१ स्वीकृत गरेको हो ।
त्यस्तै सरकारले एसियाली विकास बैंकको एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्डबाट २०२४ फ्लड्स एन्ड ल्यान्डस्लाइड्स इमर्जेन्सी रेस्पोन्स प्रोजेक्टका लागि प्राप्त हुने २० लाख अमेरिकी डलर (करिब २७ करोड ७३ लाख रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि आयोजनाको वित्तीय व्यवस्था सम्बन्धी पूर्वतयारी अगाडि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको बताए ।
२९ माघदेखि २ फागुनसम्म भारतको नयाँदिल्लीमा आयोजना हुने थर्ड एनुअल इनर्जी विक विषयक कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीलाई सहभागी हुन स्वीकृति दिने, सजाय माफी मुलतवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१ खारेज गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।उनकाअनुसार सरकारले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र ओमान सरकारका डिप्लोमेटिक एकेडेमीबीच हस्ताक्षर हुने कूटनीतिक अध्ययन र तालिममा सहकार्य सम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय गरेको छ ।