विश्व मिडियामा निम्स दाइको साहस र कीर्तिमानको स्मरण

Jhalkonepal

काठमाडौं । पाकिस्तानको ८ हजार ५१ मिटर अग्लो ब्रड पिकमा गएको हिमपहिरोमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० जना आरोहीको मृत्यु भएपछि विश्वका प्रमुख सञ्चारमाध्यमले उनको जीवन, कीर्तिमान र पर्वतारोहणमा पुर्‍याएको योगदानलाई प्रमुखताका साथ प्रकाशन गरेका छन्। 

अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार आइतबार भू–उद्धार टोलीले करिब ५ हजार ७०० मिटर उचाइमा निर्मल पुर्जा, वाङ झोङ, निमा शेर्पा र किली पेम्बा शेर्पाको शव फेला पारेको हो। यसअघि प्रतिकूल मौसमका कारण उद्धार कार्य प्रभावित भएको थियो। 

४३ वर्षीय पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोलीसँग गत बिहीबार हिमपहिरोपछि सम्पर्क विच्छेद भएको थियो। शनिबार पुर्जाको कम्पनी ‘इलिट एक्सपिड’ ले टोलीका कुनै पनि सदस्य जीवित नरहेको पुष्टि गरेको थियो। 

निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। ‘प्रोजेक्ट पोसिबल’ नाम दिइएको उक्त अभियानपछि उनी अन्तर्राष्ट्रिय रूपमा चर्चित बनेका थिए। सोही यात्रामा आधारित नेटफ्लिक्सको वृत्तचित्र 14 Peaks: Nothing Is Impossible ले पनि उनलाई विश्वव्यापी परिचित बनाएको थियो। 

रोयटर्स, एसोसिएटेड प्रेस (एपी), बीबीसी, द गार्डियन, द टाइम्स, अल जजिरा, डिडब्ल्यू, वासिङ्टन पोस्ट तथा साउथ चाइना मर्निङ पोस्टलगायत सञ्चारमाध्यमहरूले पुर्जाको निधनलाई प्रमुख समाचार बनाएका छन्। अधिकांश सञ्चारमाध्यमले उनको विश्व कीर्तिमान, पूर्व ब्रिटिस गोर्खा सैनिकको पृष्ठभूमि, उच्च हिमाली उद्धारमा पुर्‍याएको योगदान तथा आधुनिक पर्वतारोहणमा उनले पारेको प्रभावलाई विशेष रूपमा उल्लेख गरेका छन्। 

साउथ चाइना मर्निङ पोस्टले नेपाल शोकमा डुबेको सन्दर्भसँगै पुर्जाको अन्तर्राष्ट्रिय पहिचानलाई जोडेर समाचार प्रकाशित गरेको छ भने द टाइम्सले उनको जीवन, सैन्य सेवा, साहस र व्यक्तित्वमाथि केन्द्रित श्रद्धाञ्जलीमूलक सामग्री प्रकाशन गरेको छ। डिडब्ल्यू र वासिङ्टन पोस्टले प्रोजेक्ट पोसिबलुलाई आधुनिक पर्वतारोहणको ऐतिहासिक उपलब्धिका रूपमा चित्रण गरेका छन्। 

अल जजिरा, द गार्डियन, एपी र रोयटर्सले ब्रड पिक दुर्घटना, उद्धार अभियान, प्रतिकूल मौसम तथा विश्व पर्वतारोहण समुदायमा परेको क्षतिलाई केन्द्रमा राख्दै समाचार सम्प्रेषण गरेका छन्। बीबीसीले भने पुर्जालाई ‘राष्ट्रिय नायक’ का रूपमा प्रस्तुत गर्दै उनको गोर्खा पृष्ठभूमि, बेलायती सेनामा बिताएको १६ वर्ष तथा अन्तर्राष्ट्रिय सम्मानहरूको चर्चा गरेको छ।

प्रतिक्रिया