काठमाण्डौं, असार २४
चिनको तिब्बतमा परेको अविरण वर्षा पछि आएको बाढीले नेपालमा पनि क्षति गरेको छ । रसुवा जिल्लाको स्याफ्रुवेसीमा जल तथा मौसम विज्ञान विभागले जडान गरेको बाढी मापन उपकरण नै बगेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार स्याफ्रुबेसीमा आज बिहान ३ बजेर ४० मिनेट सम्म पानीको सतह मापन भएको थियो । अन्तिम पटक मापन हुदाँ पानीको सतह ५।३७ मिटर पुगेको थियो । त्यसपछि उपकरण नै बगेकाले बाढी मापन नभएको महाशाखाले जनाएको छ ।
महाशाखाका हाइड्रोलोजिस्ट दिपेन्द्र रिजालका अनुसार ‘स्याफ्रुबेसीमा बाढीको वार्निङ लेभल ५।७ मिटर हो तर ५।३७ मिटर पुगेपछि थप तथ्यांक प्राप्त भएन, यसको मतलव हाम्रो बाढी मापन गर्ने उपकरण नै बगायो,’
यसैगरी बेत्रावती नदीमा आज बिहान ५ बजे पानीको सतह १।६ छ मिटर मात्र थियो । तर ५ बजेर ५० मिनेट जाँदा पानीको सतह ह्वात्तै बढेर ४।१८ मिटर पुगेको देखिएको छ । ‘यसले के बुझ्न सकिन्छ भने माथिल्लो क्षेत्रमा केहीबेर थुनिएर बाँध फुटेर बाढी ह्वात्तै बढेको हुनसक्छ,’ रिजालले बताए ।
रसुवामा बाढीले पुर्याएको क्षति नेपाली भूभागमा परेको पानीका कारण नभएको अधिकारीहरुले बताएका छन् । विपद प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका अधिकारीहरुले छिमेकी चीनमा ठूलो वर्षा भएको हुनसक्ने वा बाँध फुटेर बाढीको रुप लिएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् ।
विपद प्राधिकरणका प्रवक्ता सुरेश सुनारले नेपालमा भारी वर्षा भएको जानकारी नभएकाले छिमेकी चीनको असर नेपालमा परेको हुनसक्ने बताए ।