काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनासम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा सामान्य रूपले घटेको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी तथ्यांक अनुसार साउन मसान्तसम्म निजी क्षेत्रतर्फ कर्जा २ अर्ब ९३ करोड रुपैयाँले (०.१ प्रतिशत) घटेर ५ खर्ब ४९ अर्ब ५० करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा भने यो कर्जा १४ अर्ब ११ करोड रुपैयाँले (०.३ प्रतिशत) बढेको थियो।
यद्यपि, वार्षिक विन्दुगत आधारमा हेर्दा भने साउन मसान्तसम्म निजी क्षेत्रतर्फ कर्जा ८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
कर्जा प्रवाहमा गैर–वित्तीय संस्थातर्फ ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार तर्फ ३७.३ प्रतिशत हिस्सा रहेको छ। अघिल्लो वर्ष यी अंश क्रमशः ६३.४ र ३६.६ प्रतिशत थिए।
धितो संरचनाको हिसाबले चालु सम्पत्तिमा आधारित कर्जा १४.८ प्रतिशत रहेको छ भने घरजग्गा धितोमा आधारित कर्जा ६४.४ प्रतिशत छ। अघिल्लो वर्ष यी अनुपात क्रमशः १३.३ र ६६.३ प्रतिशत थिए।
समीक्षा अवधिमा औद्योगिक उत्पादन क्षेत्रमा कर्जा ०.८ प्रतिशतले बढेको छ। त्यस्तै, निर्माण क्षेत्रमा ०.६ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ०.५ प्रतिशत कर्जा वृद्धि भएको छ।
तर, थोक तथा खुद्रा व्यापार क्षेत्रमा कर्जा ०.५ प्रतिशतले घटेको छ भने सेवा उद्योग क्षेत्रमा १.५ प्रतिशत र उपभोग्य क्षेत्रमा ०.०४ प्रतिशतले कर्जा घटेको देखिएको छ।
प्रकारगत हिसाबले आवधिक कर्जा ०.२ प्रतिशत, मार्जिन कर्जा २.७ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १.१ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवाससमेत) ०.३ प्रतिशतले वृद्धि भएको छ।
त्यसैगरी, हायर पर्चेज कर्जा ०.१ प्रतिशत, नगद प्रवाह कर्जा ०.९ प्रतिशत र अधिविकर्ष कर्जा ३.२ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।