काठमाडौं- ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि आइतबार बसेको प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिको बैठकमा छलफल भएको छ। बैठकमा गृहमन्त्री रमेश लेखकले नागरिकता सम्बन्धी प्रावधानमा समाजमा देखिएका नयाँ चुनौतीहरूका आधारमा कानुन संशोधन आवश्यक भएको धारणा राखेका छन्।
गृहमन्त्री लेखकले कानुन समाज र समय सापेक्ष रूपमा परिवर्तनशील हुने भएकाले त्यसअनुसार परिमार्जन गर्नुपर्ने बताए। उनले भने, “हिजो नागरिकता सम्बन्धी जुन विषयहरू थिएनन्, आज ती देखिएका छन्। भोलि थप विषयहरू आउन सक्छन्, तिनलाई पनि सम्बोधन गर्नुपर्छ।”
उनले नेपालको नागरिकताको मूल सिद्धान्त वंशका आधारमा प्रदान गरिने भएकाले आमा वा बाबामध्ये कम्तीमा एकजनाको विवरण अनिवार्य रूपमा आवेदनमा उल्लेख हुनुपर्ने स्पष्ट पारे। “आमा पनि वंश हुन् भन्ने प्रयत्न हामी गरिरहेका छौं,” उनले भने, “तर आमा र बाबामध्ये कसैको नाम नलेखी नागरिकता दिने भन्ने कुराले सही निष्कर्षमा पुर्याउँदैन।”
गृहमन्त्री लेखकका अनुसार अब नागरिकता आवेदनमा दुबै अभिभावकको नाम उल्लेख गर्न नसकिए पनि कम्तीमा एकजनाको नाम अनिवार्य हुनेछ। “आमाको लेख्न मन छैन भने बाबाको लेख्नुपर्यो, बाबाको छैन भने आमाको लेख्नुपर्छ। तर एउटा त लेख्नैपर्छ,” उनले भने, “दुईटै खाली राखेर नागरिकता बन्ने स्थिति हुँदैन।”