कला, संस्कृति र सम्पदा संरक्षणलाई प्राथमिकता दिनुहोस् : राष्ट्रपति पौडेल

Jhalkonepal

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सरकारलाई कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई उच्च प्राथमिकता दिनु पर्ने बताएका छन्।

नेपाल कला परिषद्, बबरमहलमा आयोजित नेपाल कला तथा संस्कृति महोत्सव–२०८२ अन्तर्गतको चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उनले लोकतन्त्रमा प्राप्त अवसरको सदुपयोग गर्दै नेपाली भाषा, कला र संस्कृतिको विकासमा सबै सरोकारवालाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

राष्ट्रपतिले भने, “लोकतान्त्रिक शासन प्रणालीले सबै वर्ग, पेशा र समुदायलाई समान अवसर दिन्छ। यसै प्रणालीमा हामीले आफ्नो कला र संस्कृतिको संरक्षणमा लाग्नुपर्छ।”

उनले नेपाली कला, संस्कृति र सम्पदाप्रति स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षण बढ्दो रहेको उल्लेख गर्दै त्यसको प्रचारप्रसारमा जोड दिनुपर्ने बताए।

“वर्षेनी लाखौं पर्यटक नेपाल आउने गर्छन्। उनीहरूको मुख्य चासो हाम्रो सम्पदा र संस्कृति हो,” राष्ट्रपति पौडेलले भने, “यस्तो अमूल्य धरोहरको संरक्षण सबैको साझा दायित्व हो।”

उनले सम्पदाप्रेमीहरू सधैं चनाखो रहनु पर्ने भन्दै नेपाल कला परिषद्को पहलमा आयोजित महोत्सवप्रति सन्तोष व्यक्त गरे।

राष्ट्रपतिले नेपाली कलाकृति र सांस्कृतिक सम्पदाहरू विश्वभरि ख्यातिप्राप्त भएको स्मरण गर्दै तिनै सम्पदाबाट नेपालको पहिचान बनेको बताए।

“हाम्रो कला र संस्कृतिले नेपालको सभ्यताको परिचय दिन्छ,” उनले भने, “यसको संरक्षण र प्रवर्द्धनमा सरकार, निजी क्षेत्र र आम नागरिक सबै जुट्न आवश्यक छ।”

प्रतिक्रिया