म्याद गुज्रिएका र परीक्षणमा असफल भएका ३ हजार ३० वटा एलपी ग्यास सिलिन्डर नष्ट

Jhalkonepal

काभ्रे– बनेपा नगरपालिका–४ मा अवस्थित सगरमाथा ग्यास उद्योगले म्याद गुज्रिएका र परीक्षणमा असफल भएका ३ हजार ३० वटा एलपी ग्यास सिलिन्डर नष्ट गरेको छ।

उद्योगका सञ्चालक सावरमल अग्रवालका अनुसार यो प्रक्रिया वार्षिक रूपमा सञ्चालन हुँदै आएको छ। “बजारमा सुरक्षित र गुणस्तरीय ग्यास उपलब्ध गराउने उद्देश्यले हामीले म्याद सकिएका, हाइड्रोलिक परीक्षणमा फेल भएका र बिग्रिएका सिलिन्डरहरू अत्याधुनिक मेसिनको सहयोगमा नष्ट गर्दै आएका छौं,” उनले बताए।

नेपाल आयल निगमको निर्देशन तथा नेपाल गुणस्तर तथा नापतौल विभागका मापदण्डअनुसार योग्य नभएका सिलिन्डरहरू पुनः प्रयोग गर्न नमिल्ने भएकाले नष्ट गरिएको हो। हाल सगर ग्यासका करिब साढे चार लाख सिलिन्डर बजारमा रहेको र उद्योगले दैनिक ७ हजार ५ सय सिलिन्डर रिफिल गर्दै आएको सञ्चालक अग्रवालले जानकारी दिए।

उनी भन्छन्, “ग्यास विस्फोटको प्रमुख कारण सिलिन्डर मात्र नभई रेगुलेटर र पाइप पनि हुन सक्छन्। त्यसैले हामीले आफ्ना डिपोहरूलाई सावधानी अपनाउन नियमित रूपमा सचेत गराउँदै आएका छौं।”

सिलिन्डर नष्ट गर्ने कार्यक्रममा नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग, उपभोक्ता अधिकार मञ्च, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता थियो।

नेपाल गुणस्तर तथा नापतौल विभागका प्राविधिक इञ्जिनियर कुमार मानन्धरले एनएच प्लान्ट ५३३ अनुसार परीक्षणमा फेल भएका सिलिन्डरहरू नष्ट गरिएको जानकारी दिए। “सिलिन्डर उत्पादन भएको मितिबाट २० वर्षसम्म प्रयोग गर्न मिल्छ। पहिलो पटक १० वर्षमा र त्यसपछि हरेक ५ वर्षमा हाइड्रोलिक परीक्षण गर्नुपर्ने कानुनी व्यवस्था छ। ती मापदण्ड नपुगेका सिलिन्डरहरू नष्ट गरिएका हुन्,” उनले भने।

प्रतिक्रिया