काठमाण्डौ, सावन १८
कन्चनपुरकी निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणको फेरी अनुसन्धान हुने भएको छ । केन्द्रिय अनुसन्धान व्यूरोलाइ घटनाको नयाँ शिराबाट अनुसन्धान गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्।
आइतबार सिआइबीको कार्यालय निरीक्षणका क्रममा उनले भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सुक्ष्म रुपमा अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।
साथै ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल घटनाको अनुसन्धानमा तिव्रता ल्याउन पनि लेखकले सिआइबीलाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
उनले सिमित स्रोत साधनबीच प्रहरीमा सिआइबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएको प्रति खुसी व्यक्त गरे।
मन्त्री लेखकले सिआइबीलाई साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको पनि बताए।
सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सिआइबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौतीका बारमा गृहमन्त्री लेखकलाई जानकारी गराएका थिए ।