काठमाण्डौंं, बैशाख २७
नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा बहराइनलाई सहज रुपमा ९ विकेटले पराजित गरेको छ।
थाईल्यान्डको तेरथाइ क्रिकेट मैदानमा शनिबार वर्षा र वेट आउटफिल्डका कारण खेललाई ५ ओभरमा झारिएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले ५ ओभरमा १ विकेटको क्षतिमा ४१ रन बनाएको थियो। बहराइनका लागि कप्तान दिपिका रंगासिकाले १३ बलमा आक्रमक ३४ रन बनाइन्।
उनी पूर्व श्रीलंकाली खेलाडी हुन्। जवाफी ब्याटिङमा नेपालले लक्ष्य ४.२ ओभरमा १ विकेट गुमाउँदै सजिलै पूरा गर्यो।
नेपालका लागि कविता कुँवरले १८ रनको योगदान दिइन् भने सम्झना खड्का १३ रन र कप्तान इन्दु बर्मा ७ रनमा अविजित रहिन्।
यसअघि शुक्रबारको खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने कार्यक्रम तय भए पनि वर्षा र मैदान भिजेकाले टस हुनै नसक्दा खेल रद्द भएको थियो। दुबै टोलीले १–१ अंक बाँडेका थिए।
अब नेपालले मंगलबार हङकङसँग खेल्नेछ।