रासस । भारतीय विधानसभा निर्वाचनमा भाजपा अगाडि देखिएको छ । निर्वाचन आयोगबाट प्राप्त जानकारी अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढ भाजपा अगाडि भने छ तेलङ्गनामा कङ्ग्रेसले भारत राष्ट्र समिति (बीआरएस)को १० बर्षसम्मको सत्तालाई अन्त्य गर्नसक्ने देखिएको छ ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार मध्य प्रदेशमा भाजपाले २३० मध्ये १६६ सिटमा अग्रता लिएको छ भने कङ्ग्रेसले ६३ सिटमा अग्रता लिएको छ ।
राजस्थानमा भाजपाले १९९ सिटमध्ये ११५ सिटमा अग्रता लिएको छ, जुन अशोक गेहलोत सरकारलाई सत्ताच्युत गर्ने दिशामा छ । राज्यमा कंग्रेसले ६९ सिटमा अग्रता लिएको छ ।
छत्तीसगढको चुनावमा अधिकांश सर्वेक्षण ‘एक्जिट पोल’ले कङ्ग्रेसले सरकार कायम राख्ने अनुमान गरे पनि परिणामले भने अर्कै देखाउँछ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार भाजपाले ९० मध्ये ५५ सिटमा अग्रता लिएको छ भने कङ्ग्रेसले ३५ सिटमा अग्रता लिएको छ ।
तेलङ्गनामा ११९ सदस्यीय विधानसभामा कङ्ग्रेसले ६४ सिटमा अग्रता लिएको निर्वाचन आयोगको अद्यावधिक विवरणले देखाएपछि वर्तमान बीआरएसले हार स्वीकारेको छ । बीआरएसले ३९ सिटमा अग्रता लिएको छ भने भाजपा र बीआरएसका संयुक्त उम्मेदवारले क्रमशः ८ र ७ सिटमा अग्रता लिएका छन् ।