संघीय संसद्को हिउँदे अधिवेशन आजदेखी

Jhalkonepal

काठमाण्डाैं, माघ १८

संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार (आज) बाट सुरु हुँदैछ। राष्ट्रियसभा र प्रतिनिधिसभाको अधिवेशन दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा हुनेछ। प्रतिनिधिसभातर्फ दलीय आधारमा मन्तव्य दिने कार्यसूची तय भएको छ भने राष्ट्रियसभाले भने त्यस किसिमले कार्यसूची बनाएको छैन। प्रतिनिधिसभाको पहिलो बैठकमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम छ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले माओवादी अध्यक्ष दाहालले सम्बोधन गर्ने बताए। सत्तापक्षका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेस सभापति देउवाले सम्बोधन गर्ने जानकारी दिए। प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने विषयमा यसअघि नै एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताइसकेका छन्।
प्रधानमन्त्री ओलीले सम्बोधन गरे पनि दलीय आधारमा एमालेका सांसदले पनि मन्तव्य दिने तयारी गरिएको छ। प्रतिपक्षी दलले संसद् अधिवेशन आह्वानको माग गरिरहे पनि बोलाइएको थिएन। शुक्रबार झन्डै पाँच महिनाको अन्तरालमा अधिवेशनको पहिलो बैठक बस्दै छ। गत भदौ ३१ गते संसद्को बर्खे अधिवेशन अन्त्य भएको थियो।
बैठकपछि प्रमुख प्रतिपक्ष माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्। अध्यादेश पेस भएको दुई दिनभित्र अस्वीकारको प्रस्ताव दर्ता गर्न सकिने नियमावलीमा व्यवस्था भएकाले शनिबार र आइतबारभित्र आएका अस्वीकार प्रस्ताव दर्ता गर्ने संसद् सचिवालयले जानकारी दिएको छ।
 यता राष्ट्रियसभामा ६ अध्यादेश पेससँगै विधायन समिति सभापतिले मिडिया काउन्सिल विधेयक प्रतिवेदन, २०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची छ ।
कार्यपालिकाबमोजिम दोस्रो बैठक पुस २४ गते बस्नेछ।
 

प्रतिक्रिया