लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् : परराष्ट्र मन्त्रालय

Jhalkonepal

काठमाडौं- परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रहरू नेपालको अभिन्न अंग भएको स्पष्ट पारेको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले नेपालको संविधानमा समावेश आधिकारिक नक्साअनुसार महाकाली नदीको पूर्वमा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको उल्लेख गरेको हो।

सरकार सो विषयमा स्पष्ट, अडिग र प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले भारत सरकारलाई ती क्षेत्रमा सडक विस्तार, सीमा व्यापारलगायतका गतिविधि नगर्न बारम्बार आग्रह गर्दै आएको पनि स्मरण गराएको छ।

त्यसका साथै, विवादित भूभाग नेपालको क्षेत्रभित्र पर्छ भन्ने जानकारी चीन सरकारलाई पनि गराइसकिएको मन्त्रालयको भनाइ छ।

विज्ञप्तिमा नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, घनिष्ठ र मैत्रीपूर्ण रहेको उल्लेख गर्दै सीमा सम्बन्धी कुनै पनि विषय शान्तिपूर्ण कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध रहेको जनाइएको छ।

प्रतिक्रिया