काठमाडौँ, फागुन २०
भोलि हुने सम्सद बैठकमा अनिवार्य उपस्थित हुनु भनी सत्तारुढ दल नेकपा–एमाले र नेपाली कांग्रेसले आ–आफ्ना सांसदहरुलाई ‘ह्वीप’ जारी गरेको छ ।
बुधबार बस्ने बैठकमा सरकारले ल्याएका अध्यादेशहरु स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका हुन् । सरकारले जारी गरेका ६ अध्यादेश मध्ये भूमिसम्बन्धि अध्यादेश बाहेक अन्य पाँच अध्यादेश अगाडि बढाउन सत्तारुढ दलहरुबीच सहमति भएको छ ।
यस्तै नेकपा एमालेले पनि भोलिको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ । अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद् बैठकमा उपस्थित हुन सांसदहरुलाई ह्वीप जारी गरिएको हो । जसपा नेपाल र लोसपाले भूमि अध्यादेशको विपक्षमा देखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लैजाने भएको छ ।