काठमाण्डौ, फागुन १८
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा युक्रेनी राष्ट्रपतिमाथि अपमान भएको भन्दै युक्रेनीहरुले दुःख व्यक्त गरेका छन् ।
युक्रेनी जनताले ट्रम्प प्रशासनको आलोचना गरेका छन् र ट्रम्पप्रति आक्रोशित भएको बताएका छन् । शुक्रवार ह्वाइट हाउसमा भएको तनावपूर्ण वार्ताका क्रममा युक्रेनी जनताले आफूहरूमाथि अपमान भएको बताएका हुन् ।
जेलेन्स्कीले युक्रेनको दुर्लभ पृथ्वी खनिजहरूमा अमेरिकालाई पहुँच दिनको लागि सम्झौतामा हस्ताक्षर नगरी शुक्रवार ह्वाइट हाउस छाडेपछि स्थिति अन्योलग्रस्त बनेको छ । ओभल अफिसमा भएको वार्ता विफल भएपछि तेस्रो युद्ध हुने चिन्ता थपिएको छ । वार्ताका क्रममा ट्रम्पले जेलेन्स्कीले माग गरे अनुसार संयुक्त राज्यले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन नसक्ने टिप्पणी गरेका थिए ।
अमेरिकासँग दुर्लभ खनिज सम्झौता गर्न र रुसको प्रभाव रोक्न वासिङ्टन पुगेका जेलेन्स्कीलाई ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनले अमेरिका अपमान गरेको आरोप लगाएपछि बैठकमा तनाब बढेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
तर चाइना ग्लोबल टेलिभिजन नेटवर्कसँगको अन्तर्वार्तामा, युक्रेनीहरूले अमेरिकी पक्षले आफ्नो राष्ट्रपति र युक्रेनी जनताको मर्यादाको ‘अपमान’भनेकोमा असन्तुष्टि र निराशा व्यक्त गरे ।