काठमाडौं, असार ११
संघीय संसद्अन्तर्गत आज एकै दिन ६ वटा संसदीय
समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भने आज छैन ।
अर्थ समितिको ७७औँ बैठक आज बस्दै छ । बैठकमा
आर्थिक विधेयकमार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि करका सम्बन्धमा
नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदनमा छलफल हुँदै छ ।
बिहान ११ बजे बस्ने बस्ने बैठकमा आर्थिक
विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरूका सम्बन्धमा समसामयिक
छलफल हुनेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा
नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल
गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
पूर्वाधार विकास समितिको बैठक पनि आजै बस्दै
छ । दिउँसो १ बजे बस्ने बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतिका विषयमा
छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १
बजेका लागि बोलायएको छ । बैठकमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन
समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा वाग्मती प्रदेशस्थित दोलखालगायत
क्षेत्रहरूमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा हुनेछ ।
बैठक बिहान सवा ११ बजे बस्नेछ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार
समितिको बैठक पनि आज बस्नेछ ।
समितिको २९२ औँ बैठकमा समितिको स्थलगत
अनुगमनको समीक्षा एवं प्रतिवेदनको मस्यौदामा छलफल हुनेछ ।
बैठक बिहान ११ बजे बस्ने कार्यतालिका छ ।