काठमाण्डौं, माघ १६
नेपाल पत्रकार महासंघले सरकारले संघीय संसद्मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक सच्याउन माग गरेको छ । विधेयकका केही प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।
महासंघले बुधबार विज्ञप्ति जारी गर्दै सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफल समेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा गम्भीर असहमति र आपत्ति जनाएको हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कुनै पनि कानुन स्वीकार्य नहुने महासंघको भनाइ छ ।
विधेयकमा गम्भीर प्रश्नहरू उठेको भन्दै सरकारमाथि नागरिकहरूले खबरदारी गरेका छन् । विधेयकमा आधारभूत परिवर्तन नगर्ने हो भने यसले सामाजिक सञ्जाल नियमन गर्ने नभई नागरिकको बोल्न पाउने संवैधानिक हक नियन्त्रण गर्ने बुझाइ सचेत नागरिकहरूको रहेको छ ।