नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द, वर्ल्डलिंकसहित टेलिकम र एनसेलको सेवा रोक

Jhalkonepal

काठमाडौं- सरकारको निर्देशन अनुसार नेपालमा दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू अब प्रयोग गर्न नसकिने भएको छ। वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले एक सूचना जारी गर्दै आफ्नो इन्टरनेट सेवामार्फत यस्ता प्लेटफर्महरू बन्द गरिएको जानकारी दिएको छ।

वर्ल्डलिंकले नेपाल दूरसञ्चार प्राधिकरणबाट प्राप्त निर्देशन अनुसार यो निर्णय कार्यान्वयन गरिएको बताएको छ। सूचनामा भनिएको छ, “सम्मानित सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय, सञ्चार मन्त्रालयको बैठक र सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका २०८० का आधारमा यो कदम चालिएको हो।”

यस निर्णयका कारण केही सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोगमा असहजता हुन सक्ने भएकाले वर्ल्डलिंकले सेवा प्रयोगकर्तासँग क्षमासमेत मागेको छ।

यसैबीच, नेपाल टेलिकम र एनसेलले पनि सरकारको निर्देशन अनुसार आफ्ना मोबाइल डेटा तथा इन्टरनेट सेवामार्फत यस्ता अवैधानिक प्लेटफर्महरूमा पहुँच रोकिएको जानकारी दिएका छन्।

सरकारले हालसम्म २६ वटा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई सूचीकृत गर्दै तीमाथि रोक लगाउने निर्णय गरेको छ। दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूलाई पठाइएको निर्देशन बमोजिम ती सञ्जालहरू अब नेपालबाट चलाउन नसकिनेछ।

प्रतिक्रिया