रेस्मिका परियारको हत्यामा एक किशोर पक्राउ

Jhalkonepal

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २१ वर्षीया रेस्मिका परियारको हत्यामा संलग्न भएको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ। करिब १५–१६ वर्ष उमेरका ती किशोरलाई बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

रेस्मिका परियार गत भदौ ३० गते साँझ मृत अवस्थामा फेला परेकी थिइन्। उनी अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन् र कार्यालयबाट घर फर्कने क्रममा पञ्चमी बजार नजिकैको मार्से सामुदायिक वनमा हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

परियारमाथि बलात्कारपछि हत्या गरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सुशान्त मिश्रले बताए । पक्राउ परेका किशोरलाई बिहीबार अदालतमा उपस्थित गराई म्याद थप गरी अनुसन्धान अगाडि बढाइने उनले जानकारी दिए।

रेस्मिका राती अबेरसम्म घर नफर्किएपछि खोजी थालिएको स्थानीय वडाअध्यक्ष सुवास प्रधानले जानकारी दिए । खोजतलासको क्रममा बाटोमा चप्पल फेला परेको र केही तल झाडीमा उनको शव भेटिएको उनले बताए।

परियारको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया