काठमाडौँ ,मंसिर ९
भारतको महाराष्ट्र राज्यको विधानसभा निर्वाचनमा सत्तारूढ गठबन्धन भारी बहुमतले विजयी भएको छ । २ सय ८८ सदस्यीय विधानसभा भारतीय जनता पार्टी (भाजपा) सहितको गठबन्धनले २ सय ३५ सिट जितेको छ । यहाँ बहुमतका लागि १ सय ४५ सिट आवश्यक थियो ।
भाजपा मुख्यमन्त्री एकनाथ सिन्देको शिवसेना र अजित पवारको एनसीपीसहितको ‘महायुती’ गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा गरेको हो । विपक्षी गठबन्धन ‘महा विकास अघाडी (एमभीए)’ ४९ सिटमा विजयी भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।
एमभीएमा कंग्रेससँगै उद्धव ठाकरेको शिवसेना, शरद पवारको एनसीपी (एसपी) लगायत सहभागी छन् । ४ सिटमा अन्य दलहरू विजयी भएका छन् । महाराष्ट्रका सबै २ सय ८८ विधानसभा सिटका लागि बुधबार (नोभेम्बर २०) मतदान भएको थियो ।
महाराष्ट्रको यस पटकको चुनाव इतिहासकै प्रतिस्पर्धात्मक हुने ठानिएको थियो । भारतमा पछिल्लो समय बढ्दै गएको विभाजनको राजनीतिले महाराष्ट्रको चुनावी परिणाम पनि प्रभावित हुने आकलन गरिएको थियो । तर त्यसविपरीत चुनावमा सत्तारूढ गठबन्धनले सहज जित निकालेको हो । सन् २०१९ को चुनावपछि महाराष्ट्रको राजनीतिमा खिचातानी चरमोत्कर्षमा पुगेको थियो । उक्त चुनावमा उद्धव ठाकरे नेतृत्वको शिवसेना र भाजपा विजयी भएका थिए ।