जुम्ला- जिल्लाको तातोपानी गाउँपालिकामा आइतबार एकै भुसिया कुकुरले आक्रमण गर्दा १४ जना स्थानीय घाइते भएका छन्। वडा नं. २, ४, ५ र ६ का नागरिकलाई टोक्ने उक्त कुकुरमा भने रेबिजको लक्षण देखिएको छ।
घाइतेहरूमध्ये वडा नं. २ का नरेन्द्र केसी, सर्केनी बुढा, धने रोकाया, मयालु रोकाया, र गोरे सार्की रहेका छन्। त्यस्तै वडा नं. ४ का सभ्यता हमाल, बिजकन्या न्यौपाने, लटे कामी, मन्नु न्यौपाने, संगिता समिक्षा विक र सुर्दशन विक, वडा नं. ५ की मेनका नेपाली र वडा नं. ६ की सरिता कामी गरी चार वडाबाट १४ जना घाइते भएका छन्।
घाइते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन्। रेबिजको सम्भावित संक्रमणलाई रोक्न ७२ घण्टा भित्र अनिवार्य रूपमा प्रयोग गरिने ‘एमिनो ग्लोबिन’ नामक औषधि जुम्लामा अभावमा परेको छ। जिल्लामा केही मात्रा एन्टी रेविज खोप उपलब्ध भए पनि एमिनो ग्लोबिन नहुँदा समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चौलागाईंले जानकारी दिए ।
कालिकोटबाट आवश्यक औषधि ल्याउने तयारी भइरहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक डा. कमल थानीको समन्वयमा तथा तातोपानी गाउँपालिकाको सहयोगमा ३२ डोज एमिनो ग्लोबिन ल्याइँदैछ।
गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले घाइते नागरिकहरूको ज्यान जोगाउन कुनै कसर बाँकी नराख्ने भन्दै औषधि ल्याउन तत्काल पहल गरेका हुन्। प्रति डोज एक हजार रुपैयाँका दरले ३२ हजार रुपैयाँ पालिकाले खर्च गर्नेछ।
सबै घाइतेलाई एन्टी रेविज भ्याक्सिन लगाइएको र थप आवश्यक उपचारको व्यवस्था पनि भइरहेको डा.थानीको भनाइ छ ।