बार्षिक परीक्षाको मुखैमा शिक्षकहरू पुनः आन्दोलनमा

Jhalkonepal

काठमाडौं, फागुन २४

 शिक्षा ऐन यही विधान अधिवेशन बाट सम्झौता अनुरुप जारी गरियोस् भन्दै पुनः शिक्षक हरु आन्दोलनमा उत्रिएका छन् ।

बार्षिक परीक्षाको मुखैमा  शिक्षकहरू आन्दोलित बनेका छन् । सरकारले संसद्‌मा अघि बढाएको विद्यालय शिक्षा विधेयकमा आफूहरूको माग सम्बोधन नभएको भन्दै शिक्षकहरू आन्दोलित भएका हुन् ।

शिक्षक महासंघ केन्द्रीय समितिको नेतृत्वमा आज ७७ ओटै जिल्ला बाट प्रतिनिधिमूलक शिक्षकहरूको सहभागितामा काठमाण्डौ केन्द्रित आन्दोलन सुरु भएको हो । यो भन्दा अगाडि विद्यालय, पालिका, जिल्ला र प्रदेशमा ध्यानाकर्षण पत्र बुझाईसकिएको सोलुखुम्बु शिक्षक माहासंघका अध्यक्ष जनक कुमार थापाले भाउनुभयो । आजको यो केन्द्रको कार्यक्रम पश्चात तुरन्तै केन्द्रको बैठक बसेर पुनः दोस्रो चरणको आन्दोलनको घोषणा हुने पनि उहाँले बताउनुभयो ।


२०७५ सालमा शिक्षकहरूसँग ५१ बुँदे सम्झौता गरेपनि विधेयक ल्याउँदा आफूहरूका माग सम्बोधन गर्ने प्रतिबद्धताबाट सरकार पछि हटेकाले आन्दोलित हुनुपरेको शिक्षक महासंघको जिकिर छ ।

नेपाल शिक्षक महासङ्घको अगुवाईमा शिक्षकहरूले गत ८० साल असोज ३ गतेदेखि ५ गतेसम्म आन्दोलन गरेका थिए । उनीहरूसँग ५ बुँदे सम्झौता भएपनि अस्थायी तथा बाल विकासका शिक्षकहरूले आन्दोलन जारी राखेका थिए । ती शिक्षकसँग समेत असोज १२ गते सम्झौता भएपछि आन्दोलन फिर्ता भएको हो ।

आफ्ना माग सुनुवाइमा सरकार गम्भीर नभएको भन्दै शिक्षकहरू फेरि सडकमा उत्रिएका हुन् । एसईई परीक्षा चैत सातदेखि सुरु हुँदैछ । यस वर्षको परीक्षामा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुँदैछन् । एसईई नजिकिएको परिस्थितिमा अध्यापनमा व्यस्त हुनुपर्ने शिक्षकले  विद्यालय शिक्षा विधेयक पारितको विलम्बका विरूद्ध र आफ्नो माग सुनुवाइमा दबाब दिन आन्दोलन थालेका हुन् ।


प्रतिक्रिया