धनगढी, बैशाख १६
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आज औपचारिक भारत भ्रमणमा जाँदै छन्। टोली आज दिउँसो १२ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नेछन ।
भ्रमण टोलीमा मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, मुख्य सचिव, सचिव र सचिवालयका केही सदस्यहरु छन्। उनीहरु भारत भ्रमण सकेर वैशाख २२ गते लखनउबाट स्थलमार्ग हुँदै कैलाली फर्किने छन्। मुख्यमन्त्री शाहले नेपालमै पहिलो पटक भारत सरकारको औपचारिक निमन्त्रणामा प्रदेश सरकारको टोली भ्रमणमा जान लागेको बताए।
काठमाडौंबाट हवाईमार्ग भएर दिल्ली जाने मुख्यमन्त्री शाह नेतृत्वको टोलीले दिल्लीमा संघीय मन्त्रीसँग भेटघाट गर्ने र विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेसन संघसँग अन्तरक्रिया गर्नेछ। उत्तरप्रदेश र उत्तराखण्डका विभिन्न स्थानको पनि भ्रमण गर्ने कार्यक्रम छ। भारतमा रहँदा भारतीय कृषि अनुसन्धान संस्थाको अवलोकन भ्रमण, अयोध्याको धार्मिक पर्यटकीय क्षेत्रको भ्रमण, देहरादुनका कृषि क्षेत्र सहित पर्यटकीय क्षेत्रको भ्रमण, उत्तरखण्डका मुख्यमन्त्री र कृषि मन्त्रीसँग समेत भेटघाटको कार्यसूची रहेको प्रदेश सरकारले जनाएको छ।