काठमाडौ, कार्तिक २६
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप-२९) आजदेखि अरजरबैजानको बाकुमा सुरु भएको छ। कोप नोभेम्बर २२ तारिख (मङ्सिर ७ गते) सम्म चल्नेछ। नेपालका तर्फबाट उक्त कोप सम्मेलनमा भाग लिन राष्ट्रप्रमुख रामचन्द्र पौडेल आइतबार बाकु प्रस्थान गरिसकेका छन्।
राष्ट्रपति पौडेलले यस वर्षको कोपमा हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाउँदैछन्। एक सय ९२ भन्दा बढी मुलुकहरुको राष्ट्रप्रमुखदेखि उच्च पदस्थ अधिकारीहरु सामु उनले हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उनले जलवायु परिवर्तनको असरका कारण बढेको जोखिमका उदाहरण प्रस्तुत गर्दैछन्।
जलवायुजन्य परिस्थितिले सिर्जना गरेका विपद्जन्य घटनाका विभिन्न उदाहरणहरु कोपमा प्रस्तुत गरिने वन तथा वातावरण मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले बताए। ‘बेमौसमी विपद्, थामेको हिमपहिरो, विपद्जन्य घटनाहरु हामी कोपमा प्रस्ततु गर्नेछौँ’, उनले भने, ‘यी उदाहरणहरु दिँदै जलवायुजन्य हानी नोक्सानीका लागि वित्तीय पहुँचका लागि पैरवी गर्नेछौँ।’
सरकारको दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) तथा राष्ट्रिय अनुकूलन योजना (न्याप) कार्यान्वयन गर्नका लागि अन्तर्राष्ट्रिय जलवायु वित्त, क्षमता र प्रविधिको आवश्यकता भएकाले यसपटकको कोपमा जलवायु वित्तलाई नै बढी प्राथमिकता दिइने उनको भनाइ छ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराज जोशीले ४७ वटा ठूला हिमताल जोखिममा रहेको र यी हिमतालहरु फुटेमा मुलुकले खर्बौँ आर्थिक नोक्सानीका साथै मानवीय क्षति बेहोर्नुपर्ने भन्दै यी कुराहरु पनि कोपमा उठाउन आवश्यक रहेको बताए।