मन्जिता परियार
यो सिङ्गल ट्री (एक्ले रुख) जाने बाटो कता हो दिदी ? पछाडीबाट आएको आवाजले, एक्लै हिडिरहेकी मलाइ झसँग बनायो । साँझको करिब ६ बजेको थियो, म अफिसबाट घर फर्किदै गर्दा एकान्तबाटो मलाइ बोलाउने युवती १८,१९ वर्षकी थि । स्वयम्भू चोकबाट मेरो घर जाने बाटो र उसले सोधेको सिङ्गल ट्री जाने बाटो एउटै दिशामा भएकोले मैले संगै जाउ बैनी म देखाई दिन्छु भने । उसले हुन्छ भन्दै कदम बढाएर मेरै छेउमा आइन । बाटो त माथिबाट पनि छ तर सुनसान भएकोले यो बेला एक्लै हिड्न हुदैन भन्दै सम्झाए । मेरो घर छेउको बाटो उकालो भएपनि छिटो पुगिने भएकोले त्यतैबाट जाउ तर उकालो चै निकै हिड्न पर्छ है नानी भने । सिङ्गल ट्री पुग्न उत्सुक उसले केही छैन दिदी म उक्ली हाल्छु भनिन् । अनि हामी बाटो लागेउ ।
भर्खरै १८,१९ वर्ष पुग्न लागेकी उसले पेन्ट र माथी पातलो टप लगाएकी थि । यौवन विस्तारै उक्लदै गरे पनि दिमाग परिपक्क भइनसकेको उसको हाउभाउले बताउथ्यो । त्यही भएर उसलाइ सुनसान बाटो पठाउन असुरक्षित लागेर मैले आफुसँगै हिड्न भनेकी थिए । उसँग हिड्दै गर्दा मेरो मनमा विभिन्न जिज्ञासा आयो । यो बेला किन जान लागेकी होली ? किन एक्लै त्यहाँ जान लागेकी होली ? मैले आफ्नो जिज्ञासा उसलाइ राखि हाले नानी तिमि आफन्त भेट्न आएको हो की? घर कहाँ हो ? उसले आफु पश्चिमको एउटा शहरबाट पढन भनेर काठमाण्डौ आएकी र जोरपाटीमा डेरा गरि बागबजारमा कलेज पढने बताइ । मैले फेरी सोधे अनि यो बेला किन यहाँ एक्लै आएको त? उसले भनी दिदी यहाँको सिङ्गल ट्री बारे साथीहरुले भनेका थिए । साँझमा निकै राम्रो देखिने भएकोले टिकटक बनाउन आएकी हु । अरु साथीहरु पहिला नै पुगीसके म जोरपाटी आउदा आउदै ढिलो भयो उसले भनी । यति कुरा सकिदै सिङ्गल ट्री जाने उकालो बाटो आइपुग्यो । मैले उसलाइ त्यहाँबाट जाने बाटो देखाए साथै, छिटो घर फर्किन भनेर सल्लाह पनि दिए । उसले थ्याँक्यू दिदी भनेर उकालो लागी ।
म आफ्नो कोठामा पुगेर पल्टिए । तर मेरो मस्तिस्कमा त्यो बैनीले सिङ्गल ट्री घुमाइदिएकी थि । हुन पनि त्यो सिङ्गल ट्री पछिल्लो समय टिकटकमा निकै भाइरल नै भएको थियो । ओ हो समय कहाँ पुगिसकेछ । सिङ्गल ट्री अर्थात एक्ले रुखसँग त मेरो पनि निकै घनिष्ट सम्बन्ध छ । अहिले अरुले सिङ्गल ट्री भने पनि हामी त सानै देखि उसलाइ एक्ले रुख नै भन्थ्यौ । भाइरल भएपछि उसको नाम फेरिएको थियो । एक्ले रुख त मेरो जिवनको हरेक आरोह अवरोह, सुख दुखको साथी पो हो । एक्ले रुख, म यो ठाँउमा बस्न लागे देखि नै त्यहाँ ठिँग उभिएको छ । हाम्रो उमेरसँगै उसको पनि उमेर बढ्दै गएपनि उ त्यहाँबाट टसमस भएको छैन । त्यहाँ गएर मैले धेरै समय बिताएकी छु । मेरो हरेक निराशाको साथी त्यो एक्ले रुखलाई मानेको छु । रुखको फेदमा मैले धेरै पटक आसु बगाएकी छु । मेरो मनमा उम्डिने ती आधीबेहरीलाइ शान्त भएर उसले सुनिदिएको छ । कुनै जवाफ नफर्काए पनि मेरा सबै कुरा घन्टौ सुनिदिने भएकोले त प्रिय छ । उसको शितलता र शान्त स्वभावले उर्जा दिएर मैले अनेक बाधाहरुलाइ जितेकी छु । उसले म जस्ता धेरै मानिसको दुख र सुखको कथा सुनेको होला । उसको त्यही स्वभावले गर्दा त मान्छेहरु त्यहाँ गइरहन्थे म जस्तै ।
आजकल एक्ले रुख फेरिएको रहेछ । अस्ती लकडाउन हुनु अघि त उसलाइ कसैले चिन्दैन्थे । लकडाउनकै बेला टिकटकले विश्वमै तहल्का मचायो । अझ नेपालीहरुलाइ त टिकटकको नशा नै लाग्यो । त्यही नशाले एक्ले रुखलाइ पनि रातारात भाइरल बनायो । यही सोच्दा सोच्दै त्यो रुखलाइ हेर्न मन लाग्यो । मेरो घरको छतबाट पनि एक्ले रुख प्रस्टै देखिन्थ्यो । त्यसैले छतमा उक्लेर रुखलाइ हेरे । ओहो तिहारको झिलिमिली जस्तै पो भएको रहेछ । कामको ब्यस्ततामा छतमा आएर रातीमा नटोलाएको धेरै दिन भइसकेको रहेछ । एक्ले रुख त रातीमा टाढाबाट क्रिसमस ट्री जस्तै देखिने गरि फेरिएको रहेछ । रङ्गीबिरंगी बती रातो ,निलो ,पहेलो । साँझको बेला बिरलै मान्छे पुग्ने एक्ले रुखको छेउमा त मान्छेको लाम रहेछ । भोली त जसरी पनि मेरो पुरानो साथी एक्ले रुखलाइ भेट्न जान्छु भनेर मनमनै सोचेर कोठामा आएर सुते ।
एक्ले रुखलाइ भेटन उकालो चढेर पुग्दा उ त्यती खुसी जस्तो लागेन । बटुवाहरु बस्नलाइ ढुँगाको सानो पेटी बाहेक केही थिएन । अहिले त फलामका कुर्सी लहरै राखिएका रहेछन । मलाइ देख्ने वित्तिकै उसले आफ्नो विलौना गर्न लागेको मैले महसुस गरे । एक्ले रुखको फराकिलो जरामा फलाम गाडेर बार लगाइएको रहेछ । मलाइ यसरी फलामले रोप्दा पनि तिमिले वास्ता गरेनौ है भनेर उसले आशु झार्यो । एक्ले रुखको फेदमा आजकल बस्न नमिल्दो रहेछ । फलामले बारेको ठाँउमा उभिएर फोटो खिच्ने टिकटक बनाउन मात्र एकछिन उभिने रहेछन । पहिला जस्तो आफ्नो मनका बेदना, त्यहाँ सुनाउन कोही पनि नआउदो रहेछ । अनेक भावमा फोटो र टिकटकको भिडियो बनाएको देखेर एक्ले रुख दिक्क भइसकेको रहेछ । शुरुशुरुमा मान्छेहरुले उसको अगाडी फोटो भिडियो खिच्नेहरुले रोएको हासेको अनेक भाव बनाउदा साच्चै पिडामा वा खुशीमा रमाएको मान्छे आए भन्ने लाग्दो रहेछ । झन धेरै मान्छेको पिडा र मनमा भावहरु सुन्न पाइने भयो आफुलाइ साथी मान्नेहरुको संख्या बढ्यो भनेर एक्ले रुख दंग परेको रहेछ । तर विस्तारै उसले बुझ्यो त्यो त नाटक मात्र रहेछ । मान्छेहरुका ती हाउभाउ त एकछिनको चटक मात्र रहेछ । हाउभाव मात्र होइन मान्छेहरुको भावना नै नभएको उसले महसुस गरेको रहेछ । कतिपय जोडी बनेर आउनेहरु अर्को पटक आउदै बेग्लै मान्छेसँग आएको देख्दा उसलाइ ताजुब लागेको रहेछ । प्रेमीप्रेमिका बनेर यसरी मान्छे फेर्दै आउनेहरु देखेर उसलाइ आफ्नो कहिल्यै पुरा नहुने प्रेममा गर्व महसुस हुदो हरेछ । उ आफ्नी प्रेमिका रुखलाइ सम्झीदो रहेछ । एक्ले रुखकी पनि प्रेमिका छ । तर अर्को डाँडामा । सानो छदा उसकी प्रेमिका अहिले एक्ले रुख भएकै ठाँउको नजिकै थी रे । एकपटक पहिरो खस्दा उसकी प्रेमिका पनि त्यसैमा परेर डाँडाको फेदमा पुगेकी रहेछ । त्यो बेला देखि उनीहरुले एकअर्कालाइ देख्न पाएका छैनन् । तर आफ्नी प्रेमिका डाँडाको फेदमा जरा अड्याएर आफुलाइ बचाएकी छे । उनीहरुले धेरै पटक हावाको माध्यमबाट कुरा गरेका छन । आफ्ना जराहरुलाइ डाँडाको फेद सम्म पुगाएर एकदिन हात समाउने बाचा गरेका छन । त्यसैले एक्ले रुखले आफ्ना जरालाइ जमिन मुनी धसाउदै गएको छ । तर मान्छेहरुले एक्लेरुखका जरामा फलाम रोपिदिए पछि उसका जरा घाइते भएका छन । तर पनि उसलाइ आफ्नी प्रेमिकाको हात कुनै दिन अवस्य भेटिन्छ भन्ने विश्वास छ।
यस अघि एक्ले रुखको छेउमा आउदा म, मेरा बेदना उसको अगाडी पोख्थे । तर आज त सबै उल्टो भयो । एक्ले रुखले आफ्नो भावना नरोकिकन सुनाइरह्यो । भावुक भएकोले होला उसले त मेरो बारेमा एक बचन पनि सोधेन । उसले फेरी आफनै कुरा अगाडी बढायो । हेरन पहिले मेरो हाँगामा बस्ने चराचुरुंगीहरु पनि आजकल आउदैनन् । उनीहरुले पनि आफ्नो गुँड सारे । यहाँ त मान्छेहरुले आएर उनीहरुलाइ डिस्टर्ब गर्न थाले । रातीमा त आफ्नो बासस्थानमा आएर शान्त भएर परिवारसँग बस्न पाउनु पर्छ नी । के यो पृथ्वी मान्छेहरुको मात्र हो र ? चराचुरुंगीहरु मान्छेहरुको टिकटक र नाचगान अनि यहाँ भएको होहल्ला गर्दा बसाइसराइ गरि यहाँबाट विदा भए । हामीले त मान्छेलाइ सधै सहयोग नै गरेको हुन्छौ तर मान्छे कति बैगुनी भएको हो के आफ्नो बारेमा मात्र सोच्छ ।
म यहाँ भइदिएको कारणले केही मान्छेहरुको जिवनयापनमा सजिलो भएको छ । एक्ले रुख भाइरल भएर त्यहाँ ब्यापार फस्टाएको रहेछ । चटपटे पानीपुरी देखि युवायुवतीलाइ आकर्षित गर्ने सबै सुविधा एक्ले रुखको छेउछाउमा विस्तार भइरहेको रहेछ । चिया चना चटपटेको ब्यापार गर्नेहरुको लाम हेर्दा उनीहरुको परिवारको गुजारा गर्ने माध्यम म भएको मा खुशी पनि लाग्छ । तर चियाको चुस्की मात्र होइन बोतलको बियर र ह्वीस्कीको पनि ब्यापार हुन थाल्यो यसले दिक्क लाग्छ । कतिको घरपरिवार यसैले विगारेको होला । डाँडामा बसेर पिउने भन्दै रक्सी खानेहरुको पनि भिड उत्तिकै बढेको छ । यिनीहरुकै कारणले बेलाबेला यहाँ झैझगडा फसाद हुन्छ । त्यो बेला त मलाइ कसैले काटी दिए हुन्थ्यो भन्ने लाग्छ । यो भाइरल भएर वास्तवमा म खुशी छैन । भाइरल भएसँगै मेरो आफ्नो पहिचान गुमेको छ । मेरो चैन गुमेको छ । सबैभन्दा दुखको कुरा त निस्वार्थ मान्छेहरुको पिडा सुन्ने उनीहरुलाइ शितलता दिएर बाच्नको लागि उर्जा दिने एक्ले रुखलाइ हेर्न पनि नगरपालिकाले पैसा उठाउन थालेछ । आफ्नो काख बेचिएकोमा एक्ले रुखलाइ सबैभन्दा बढि पिडा रहेछ । हुन त आफ्नो कोख पनि बेच्न थालिसकेको बेला मेरा काखको महत्वलाइ मान्छेले कहाँ बुझ्थ्यो । मलाइ भाइरल बनाउनेले मेरो बास्तविक पहिचान, मेरो अस्तित्व, प्रकृतिले दिएको मेरो महत्वलाइ प्रचार गरिदिएको भए कति राम्रो हुन्थ्यो है ।
मैले तिम्रो जिवनको धेरै कुरा सुनेको छु । तिमिलाइ शितलता र हौसला दिएर पठाएको छु । के तिमि मेरो सानो काम गरिदिन्छौ ? मैले के काम भनेर सोधे । उसले भन्यो मलाइ पहिला जस्तै बनाउन मद्दत गर नत्र भने मलाइ काटी देउ वा डोजर लगाएर मेरा जरा उखेलेर डाँडाको फेदमा भएकी मेरी प्रेमिका भएको ठाँउमा पुगाइदेउ । उ जोडजोडले रुन थाल्यो । म झसँग भएर बिउझे । ओ हो बिहानको ५ बज्न लागेको रहेछ । मेरो सपनामा एक्ले रुखले आफ्नो पिडा सुनाइरहेको रहेछ ।