साफ महिला च्याम्पियनसिप २०२४ : नेपालको माल्दिभ्समाथि फराकिलो जित दर्ता

Jhalkonepal

काठमाडौं , कार्तिक ५

 साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि फराकिलो जित दर्ता गरेको छ ।
दशरथ रंगशालामा सम्पन्न खेलमा माल्दिभ्समाथि ११-० को फराकिलो जितका साथ नेपाल अंक तालिकाको शीर्षस्थानमा पनि उक्लिएको छ । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । नेपालको जितमा रेखा पौडेलले ५ गोल र प्रिती राईले ह्याट्रिक पूरा गर्दा सविता राना मगर, अमिशा कार्की र अनिता केसीले १-१ गोल गरे ।
नेपालको २ खेलमा ४ अंक छ । भुटानको समान ४ अंक भएपनि गोल अन्तरमा नेपाल अघि छ । श्रीलंकाको ३ अंक हुँदा माल्दिभ्सले खाता खोलेको छैन । अब अन्तिम खेलमा नेपालले बराबरी गरे मात्र पनि सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह विजेता बन्न भने भुटानको नतिजा पर्खनुपर्नेछ ।
साफ अन्तर्गत बुधबार भारत र बंगलादेश साँझ ५:३० बजे खेल्नेछन् । समूह बी अन्तर्गत विहीबार दिउँसो १:३० बजे भुटान र माल्दिभ्स तथा साँझ ५:३० बजे नेपाल र श्रीलंका खेल्नेछन् ।
 

प्रतिक्रिया