बैंकक- थाइल्याण्डको राजधानी बैंककस्थित नेपाली दूतावासले संविधान दिवसको ११औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। समारोहमा प्रवासी नेपालीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
कार्यक्रममा नेपाली राजदूत धनबहादुर ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पठाइएको शुभकामना सन्देश वाचन गर्दै, संविधान नेपाली जनताको लामो संघर्षको सार रहेको उल्लेख गरे। उनले संविधान कार्यान्वयनमा सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा विभिन्न पेशा, व्यवसाय, अध्ययन र सेवामा आबद्ध थाइल्याण्डस्थित नेपाली समुदायको सहभागिता रहेको थियो। सहभागीहरूले नेपालको संविधान, राजनीतिक परिस्थिति, सामाजिक संरचना र प्रवासी भूमिकाबारे विचार–विमर्श गरेका थिए।
विशेषगरी जेन–जेड पुस्ताका नेपाली युवाहरूले संविधान र लोकतान्त्रिक अभ्यासप्रति आस्था व्यक्त गर्दै, विदेशमा रहेर पनि मातृभूमिको हितमा सक्दो योगदान गर्ने अठोट दोहोर्याए। उनीहरूले नयाँ दृष्टिकोण र ऊर्जाशील विचार प्रस्तुत गरेका थिए।
राजदूत ओलीले संविधान दिवसजस्ता अवसरहरू प्रवासी नेपालीलाई मातृभूमिसँग भावनात्मक रूपमा जोड्ने माध्यम भएको बताए। साथै, वर्तमान चुनौतीका बेला सबै नेपालीले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउनुपर्ने धारणा राखे।
यो कार्यक्रमले थाइल्याण्डमा रहेका मात्र नभई सम्पूर्ण प्रवासी नेपालीहरूबीच राष्ट्रिय एकता, जिम्मेवारीबोध र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता अझ प्रगाढ बनाएको दूतावासले जनाएको छ।
२०७२ असोज ३ गते जारी भएको नेपालको संविधानको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइन्छ।