विराटनगर , असोज १२
नेकपा एमाले कोशी प्रदेश कमिटीको अधिवेशन आज विराटनगरमा सुरु हुँदैछ। एमालेले यो अधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।
नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडाको नाममा सर्वसम्मत सहमतिको प्रयास सुरु भएको बताएएको छ ।
एमाले केन्द्रीय सदस्य विनोद ढकाल, अहिलेका उपाध्यक्ष टिकाराम चेम्जोंग र एमालेका पुराना नेता घनश्याम खतिवडा अध्यक्षको आकाङ्क्षी छन् ।
एमाले कोशी प्रदेश अधिवेशन प्रचार प्रसार उप समितिले बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज रघुवीर महासेठले सर्वसम्मत नेतृत्व चयनको प्रयास हुने बताए । ्
उनले सर्वसम्मत नेतृत्व छनौटमा समस्या भए निर्वाचन हुने तर प्यानल बनाएर निर्वाचनमा जान नपाउने पार्टीको स्पिरीट रहेको बताए ।
पत्रकार सम्मेलनमा अध्यक्षका चारै जना आकाङ्क्षी सहभागी थिए । पत्रकारले पटक पटक उम्मेदवारी घोषणाको कुरा गर्दा पनि उनीहरूले उम्मेदवार घोषणा गरेनन् ।
एमाले कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले मनोनयन दर्ता गरेपछि मात्रै उम्मेदवार घोषणा गरिने बताए ।
कोशी प्रदेशको अधिवेशनमा ९९७ जना प्रतिनिधि छनौट भएका छन् । जसमा ३१७ जना महिला छन् ।
भूगोल र जन सङ्गठनबाट छानिएका प्रतिनीधको ५ प्रतिशत थप प्रतिनिधि मनोनीत गर्ने भनिए पनि अहिले सम्म प्रतिनिधि मनोनयन हुन सकेको छैन । प्रतिनिधि मनोनयनमा विवाद भएको एमाले श्रोतले जनाएको छ ।
विवादका कारण प्रतिनिधि मनोनयन हुन नसके पनि प्रदेश अधिवेशनमा जम्मा प्रतिनिधि १०५० हुने पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले बताए ।