काठमाडौं। नेकपा एमालेकी वरिष्ठ नेता विद्या भण्डारीले पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही सूचना प्रवाह गर्न आवश्यक रहेको बताएकी छन्।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै भण्डारीले पार्टीका उपलब्धिको मूल्यांकन हुनुपर्ने बताइन्।
‘यस पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिहरूबारे सही जानकारी प्रवाह हुनुका साथै तिनको वस्तुनिष्ठ मूल्यांकन हुनु आवश्यक छ’, उनले भनिन्,‘पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना तथा अफवाहहरूको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्दछ।’
यस्तै, उनले विदेशमा रहेका नेपालीहरूको अवस्था, आवश्यकता र समस्या फरक–फरक रहेको उल्लेख गर्दै श्रमिक, विद्यार्थी, व्यवसायी, महिला, युवा तथा विभिन्न पेशामा संलग्न नेपालीका समस्या र सरोकारलाई समेटेर संगठनका गतिविधि अघि बढाउनुपर्ने बताइन्।
संगठनलाई सबै वर्ग र समुदायका नेपालीको साझा सरोकारसँग जोड्दै प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ।
विदेशमा हुर्किरहेका नेपाली बालबालिका तथा नयाँ पुस्तालाई भाषा, संस्कृति, इतिहास र मातृभूमिसँग जोडिराख्नु साझा जिम्मेवारी भएको भण्डारीले बताइन्।
उनीहरू जहाँ रहे पनि आफ्नो नेपाली पहिचानप्रति गर्व गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै उनले यसका लागि नेपाली भाषा शिक्षण, सांस्कृतिक कार्यक्रम तथा साहित्यिक गतिविधिहरूलाई प्रोत्साहन र प्रवर्द्धन गर्न आवश्यक रहेको बताइन्।