काठमाडाैं, जेठ ७
यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ।
विभागले ललितपुरमा बुधबार आयोजना
गरेको ‘राष्ट्रिय मनसुन फोरम’ मा मौसमविद्हरूले यसपालि वर्षा र गर्मी धेरै हुने प्रक्षेपण सार्वजनिक गरेका हुन्।
मनसुनसँगै निम्तनसक्ने जोखिम र
त्यसको उचित व्यवस्थापनका लागि गृह मन्त्रालय र मातहतका निकायले गृहकार्य थालेका
छन् ।
गृहमन्त्री रमेश लेखकले सरकार र
गैरसरकारी दुवै क्षेत्र मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीमा लाग्नुपर्ने
बताउनुभएको छ । मातहतका निकायलाई पनि आवश्यक निर्देशन दिएको उहाँले जानकारी
दिनुभयो ।
त्यस अनुसार राष्ट्रिय विपद् जोखिम
न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन प्रतिकार्य योजना र त्यसको
कार्यान्वयनका लागि छलफल तीव्र पारेको छ । प्राधिकरणले र्याफ्टिङ एशोसिएशन र
पर्वतारोहण सङ्घलगायत निजी क्षेत्रसँग छलफलसमेत गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण
तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्टले हिमाली
क्षेत्रमा उद्धारका लागि र तराई/मधेशमा डुबानबाट मानवीय क्षति हुन नदिनका लागि
छलफल गरेको बताउनुभयो ।
छलफलमा दुवै संस्थाहरूले सहयोगको
प्रतिबद्धता जनाएका उहाँले जानकारी दिनुभयो । यस वर्षको मनसुनमा विगतभन्दा धेरै
पानी पर्ने अनुमान अनुसार पूर्वतयारी महत्त्वपूर्ण रहेको कार्यकारी प्रमुख भट्टले
बताउनुभयो ।