काठमाडौं, कार्तिक २७
नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क
र डेडिकेटेड लाइन प्रयोग गरेका तर बक्यौता नतिरेका उद्योगका काटिएको बिजुली जोड्ने
भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको दबाबमा नेपाल विद्युत्
प्राधिकरणको बोर्ड बैठकले बक्यौता नतिरे पनि उद्योगको लाइन जोड्ने निर्णय गरेको हो
।
आज मन्त्रीले बोलाएको बोर्ड बैठक
कोरम नपुगेपछि तीन पटकसम्म स्थगित भएको थियो । तर अन्तिम पटक उहाँले कोरम पुर्याएपछि
लाइन जोड्ने निर्णय गराउनुभएको हो ।
पटक पटक ताकेता गर्दा पनि बक्यौता
नतिरेको भन्दै विद्युत् प्राधिकरणले यही कात्तिकको ८ गते ३४ वटा उद्योगको लाइन
काटिदिएको थियो । विद्युत् नियमन आयोगले पनि कात्तिकको १४ गते विद्युत्
प्राधिकरणलाई पत्र पठाएर पहिलो किस्ताको बक्यौता नतिरेसम्म लाइन नजोड्न निर्देशन
दिएको थियो ।
प्राधिकरणले ५६ किस्तामा रकम
बुझाउन सक्नेगरी लचक व्यवस्था ल्याएको छ । तीमध्ये ६ वटा उद्योगले किस्ताबन्दीमा रकम बुझाउन शुरू गरेका कारण लाइन
जडान भइसकेको छ । अब २८ वटा उद्याेगकाे बिजुली जाेडिनेछ ।
६ वर्षदेखिको विवाद समाधानतर्फ
गइरहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री खड्काको दबाबपछि
प्राधिकरण लाइन जोड्न बाध्य भएको हो । विद्युत् प्राधिकरणले बक्यौताको किस्ता
तिर्न नथालेसम्म लाइन नजोड्ने अडान लिएको थियो । तर सरकारले बक्यौता उठ्ने कुनै
ग्यारेन्टी नगरिकन लाइन जोड्न निर्देशन दिएकाले राज्यले उठाउनुपर्ने झन्डै साढे ६ अर्ब रुपैयाँ बक्यौता अन्योलमा परेको छ ।
२६ कार्तिक २०८१, मङ्गलबार ०६:५४ मा प्रकाशित