सिन्धुपाल्चोक, भदौ १५
नेपाल–चीन सिमास्थित तातोपानी नाकाबाट मानवीय आवतजावत सुरु भएको छ ।
आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् । सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए । आठ बर्ष पछि तातोपानी नाका सर्बसाधारणका लागि खुलेको हो । २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द थियो ।
चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट यहि वैशाखमा दोहोरो आयात निर्यात खुलाइएको थियो । आयात निर्यात खुलेलगत्तै मानिस आवतजावतका लागि संसदमा आवाज उठेपछि कूटनीतिक भेटघाट तथा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीको समेत ध्यानाकर्षण भएको थियो । आजदेखिभने पूर्ण रुपमा स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभएको छ ।