काठमाडौं ,असोज २८
कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने
साफ महिला च्याम्पियनसीप–२०२४ का लागि नेपाली टोली घोषणा भएको छ ।
मुख्य
प्रशिक्षक राजेन्द्र तामाङले घरेलु मैदानमा हुने प्रतियोगिताका लागि २३ सदस्यीय
अन्तिम टोली घोषणा गरेका हुन् । टोलीमा विदेशी लिगमा व्यस्त रहेका सावित्रा
भण्डारी र रेखा पौडेललाई पनि समेटिएको छ ।
नेपाली टोलीको कप्तानी गोलकिपर एन्जिला
तुम्बापो सुब्बाले गर्नेछिन् । सातौं संस्करणको साफ वुमन्स च्याम्पियनसिप कात्तिक
१ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुँदैछ । च्याम्पियन्सिपमा आयोजक नेपालसहित
माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश
सहभागी हुने छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साबिक
विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र
माल्दिभ्स छन् ।
च्याम्पियनसिपको पहिलो खेल भारत र
पाकिस्तानबीच हुनेछ । नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग कात्तिक २ गते खेल्नेछ
। अघिल्ला ६ मध्ये पाँच पटक उपविजेता बनेको नेपालले यस पटक घरेलु मैदानमा
च्याम्पियन बन्ने लक्ष्य राखेको छ । प्रतियोगिताका लागि सहभागी टोली नेपाल आउने
क्रम जारी छ ।