काठमाडाैं , जेठ ७
हुम्लाको नाम्खा गाउँपालिका– ६, तिलगाउँमा आएको बाढीको अध्ययन गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली हुम्लातर्फ गएको छ ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार डिभिजन इन्जिनियर सुशील श्रेष्ठ नेतृत्वमा भूगर्भविद्, जलस्रोतविद्सहितको पाँच सदस्यीय टोली हिजो नेपालगञ्ज पुगेको छ । टोली आज हुम्ला सदरमुकाम सिमकोट पुग्नेछ । त्यसपछि पैदल हिडेर नाम्खा जानेछ ।
गएको बिहीवार तिलगाउँभन्दा साढे तीन किलोमिटर माथि रहेको हिउँभित्रको ताल पग्लिएर पानी खोल्सी हुँदै बाढीमा परिणत भएको प्रारम्भिक विवरण आइसकेको छ । तर, तालबाट किन र कसरी ठूलो मात्रामा पानी बाहिर आएर बाढी आयो र आउँदा दिनमा के–कस्ता जोखिम छ भनेर अध्ययन गर्न टोली गएको प्रवक्ता केसीले बताउनुभयो ।
७ जेठ २०८२, बुधबार १०:०४ मा प्रकाशित