काठमाडौं- नेपाल भ्रमणमा रहेका वा जाने तयारीमा रहेका भारतीय नागरिकहरूलाई नेपालस्थित भारतीय दूतावासले सावधानी अपनाउन आग्रह गरेको छ। पछिल्लो केही दिनमा नेपालमा अवस्था सुधार भए पनि यात्रुहरूले आवश्यक सतर्कता अपनाउनु पर्ने दूतावासको भनाइ छ।
दूतावासले शुक्रबार जारी गरेको सूचना अनुसार, अहिले सडक यातायात र हवाई सेवा सामान्य रूपमा सञ्चालनमा छन्। यद्यपि, परिस्थितिलाई ध्यानमा राख्दै भारतीय यात्रुहरूलाई दूतावास वा स्थानीय प्रशासनले दिने निर्देशनहरू पालना गर्न आग्रह गरिएको छ।
नेपालमा बसोबास गरिरहेका वा भ्रमणमा रहेका भारतीय नागरिकहरूलाई आवश्यक परेमा सहयोग लिन निम्न हेल्पलाइन नम्बरहरूमा सम्पर्क गर्न भनिएको छः '९७७–९८०८६०२८८१ स्थायी आपतकालीन नम्बरः ९७७–९८५१३१६८०७ ।'
नेपालमा हालैका केही हिंसात्मक घटनाहरूका कारण प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र संघीय संसद् सचिवालयमा क्षति पुगेको थियो। तर, अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन मिति घोषणा गरेपछि अवस्था सामान्य बन्दै गएको देखिएको छ।