बजेट अभावमा मुगुको रुपान्तरण कम्युनिटी अस्पताल चार वर्षदेखि अलपत्र

Jhalkonepal

मुगु- करिब चार वर्षअघि करिब १ करोड २० लाख रुपैयाँ खर्चेर निर्माण गरिएको मुगु जिल्लाको सोरु गाउँपालिका–६ स्थित रुपान्तरण कम्युनिटी अस्पताल हालसम्म सञ्चालनमा आउन सकेको छैन। थप बजेट अभावका कारण अस्पताल अलपत्र अवस्थामा छ भने स्थानीय बासिन्दा स्वास्थ्य सेवा नपाएर निराश भएका छन्।

कर्णाली प्रदेश सरकारको लगानीमा भवन, हल, शौचालय, सोलार बत्ती र ल्याब उपकरणसम्म जडान गरिए पनि डाक्टर, स्वास्थ्यकर्मी र औषधि नहुँदा अस्पतालबाट सेवा दिन नसकिएको अस्पताल व्यवस्थापक गंगराज शाहीले जानकारी दिए।

“भवन बनेको पनि वर्षौं भयो। तर अहिले भवन जिर्ण बन्दै गएको छ, वरिपरि झाडीले ढाकेको छ,” शाहीले भने।

स्वास्थ्य सेवा पाउनकै लागि अहिले पनि स्थानीयहरूलाई सामान्य सिटामोलदेखि एक्सरेसम्मको लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता छ।

अस्पताल सञ्चालनमा आउँने आशामा स्थानीयहरूले चन्दा स्वरूप ६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको जग्गा दिएका थिए। तर, सेवा सुरु नहुँदा उनीहरूमा गहिरो निराशा छ।

जग्गादाता पुन्य रोकायाले भने, “अस्पताल बन्ने भएपछि धेरै आशा थियो, तर अहिले अलपत्र परेको देख्दा दुःख लाग्छ।”

यस्तै, स्थानीय राजेन्द्रबहादुर शाही र तेजबहादुर मल्लले पनि तत्काल अस्पताल सञ्चालनको माग गर्दै संघ, प्रदेश र स्थानीय सरकारलाई समन्वय गरेर थप बजेट उपलब्ध गराउन आग्रह गरेका छन्।

प्रतिक्रिया