रवि लामिछानेले दिए पोखरा उच्च अदालतमा निवेदन

Jhalkonepal

पोखरा, माघ १४

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशप्रति चित्त नबुझेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत पोखरा पुगेका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासले रविलाई गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले रविलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको थियो ।न्यायाधीश राजुकुमार खतिवडाको इजलासले धरौटीमा छाड्नुको कारण पेश गर्न आदेश गरेको थियो ।

जिल्ला अदालत कास्कीले धरौटीमा छाड्ने आदेशमा चित्त नबुझेपछि साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालत पुगेका हुन् ।

जिल्लाको आदेशमा चित्त नबुझेपछि फौजदारी कार्यविधि संहिताको ७३ नम्बर बमोजिम उच्च गएको लामिछानेका कानुन व्यवसायी डा. नारायण कडेंलले जानकारी दिए । ‘कार्यविधि संहिताको दफा ६९ बमोजिम साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाउँ भनेर निवेदन दिइएको हो,’ अधिवक्ता कडेंलले भने ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएका रविलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोजन पत्र दर्ता गराइएकोमा पुस २५ गते ६५ लाख धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया