काठमाण्डौ, असार ३
सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो ।
सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ । लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ ।
आजको बैठकमा पनि विपक्षी दल नेपाल स्वतन्त्र पार्टी (रास्वपा) को विरोध जारी रहने भएको छ । उसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान हुनुपर्ने माग राख्दै संसद् बैठक अवरुद्ध गरिरहेको हो ।
रास्वपाले उनले तत्काल पदबाट राजीनामा दिएर भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि सहयोग गर्नुपर्ने बताउँदै आएको छ ।