पर्वत कारागारबाट कैदी भगाउन सहयोग गर्ने १४ जना पक्राउ

Jhalkonepal

काठमाडौं- पर्वत जिल्ला कारागारबाट कैदी र थुनुवा भगाउन मद्दत गरेको अभियोगमा एक महिला सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। देशमा जारी असामान्य अवस्थाको फाइदा उठाउँदै हुलहुज्जतको बीचमा कैदी भगाएको आरोपमा शनिबार उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

कुश्मा नगरपालिकाबाट १२ जना, विहादी गाउँपालिकाबाट १ जना र चितवनबाट १ जना गरी कुल १४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरूविरुद्ध कारागार ऐन, २०७९ अन्तर्गत अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार केही पक्राउ परेकाविरुद्ध सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको आरोपसमेत छ।

यसअघि भदौ २५ गते राति पर्वत कारागारबाट १९ जना कैदी फरार भएका थिए। तीमध्ये पर्वतबाट भागेका ५ जना र कास्की कारागारबाट फरार भएका थप ५ जनासहित १० जनालाई प्रहरीले पुनः पक्राउ गरी कारागार चलान गरिसकेको छ।

फरार कैदीहरूको खोजी जारी रहेको कारागार कार्यालय पर्वतका सूचना अधिकारी महेन्द्र रेग्मीले बताए। साथै, उनले सर्वसाधारणलाई कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन र कैदीहरूलाई आत्मसमर्पण गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया