हाम्रो स्वतन्त्रलाई अव पनि बाँधेरै राख्ने हो र ?

Jhalkonepal


सीमा बस्नेत 

दिनभरि कसेर बाँधिएका उनीहरू साँझ परे पछि उन्मुक्त हुन चाहन्थे । तर अहँ अझै रात परेको छैन सुत्ने समय नै भएको छैन त्यसैले उनीहरूलाई जतिसुकै असजिलो भए पनि कसेर नै बाँधेर राखिएको थियो । मलाई दुख्यो !  उकुसमुकुस भो मलाई !  अह उनीहरूलाई जति सुकै असजिलो भए पनि समाजले निर्धारण गरेको लाज, इज्जत र संस्कारले उनीहरूलाई स्वतन्त्र हुनै दिएको थिएन । यो संसारमा कसैलाई अरूको कारणले बाँधिएर बन्धनमा बस्न मन पर्छ होला त ? पक्कै पनि कसैलाई पनि बन्धनमा बस्न अस्वीकार्य नै हुन्छ । अझ जसलाई प्राकृतिक रूपमै स्वतन्त्र बनाइयो यसलाई मानिसले बाँधेर राख्न खोज्दा दुख त हुने नै भयो ।  मानिसलाई मात्र होइन, जनावर र बिरुवालाई पनि त्यसरी जकडिएर बाँधेर राख्दा उनीहरूको वृत्ति विकास रोकिन्छ वा प्राण नै जान्छ ।

यो सबै थाहा हुँदाहुँदै पनि मैले उनीहरूलाई कसेर राखेकी छु । मलाई उनीहरूलाई यसरी कसेर राख्न मन छैन । तर समाजले के भन्ला, उनीहरू स्वतन्त्र भएर हलचल भए अरूले त्यसलाई गलत सोच्नेछन् र त्यसको दोष मलाई दिनेछन् । कस्तो संस्कार नभएकी वा उत्ताउली । हो मैले कुरा गरेको मेरा स्तनको बारेमा हो ।  हुन त मैले लेख्दै गरेको यो आलेख पढे पछि पनि धेरैलाई म उत्ताउली वा संस्कार हीन भनेर नै अर्थ लगाउनेछन् । तर यो आलेखले समग्रमा ती अङ्गको स्वतन्त्र मात्र होइन महिलाहरू माथि भएको सामाजिक दमन र जकड्नलाई पनि उठान गरेको हो । मैले माथि भनेको उनीहरू शब्द मेरा स्तनको लागि हुन । म जस्तै हजारौँ नारीहरूलाई किशोरावस्थामा  स्तन बढ्न  थाले देखि नै आमा, दिदी, फुपू भाउजू, हजुरआमाहरूले त्यसलाई छोप है, हल्लिनु हुँदैन भनेर सिकाए । जुन कुराले पुस्तौँ पुस्ता देखि निरन्तरता पाएको छ । महिलालाई समाजमा दबाएर वा बन्धनमा राख्ने कुराले जस्तै मेरा स्वतन्त्र अङ्गलाई आफैलाई दुख हुन्जेल म जस्ता हजारौँ महिलाले दबाएर कसेर राख्नु परेको छ । म पढेलेखेकी, आफ्नो अधिकार बुझेकी महिला, मैले जतिसुकै मेरो शरीर मेरो अधिकार भने पनि मैले आफ्नै शरीरलाई आफैले यसरी कस्नु परेको छ, म कदापि चाहन्न यसरी कसिन, म कदापि चाहन्न आफूलाई पिडा सहेर बाँध्न । तर बाध्य छु आफूलाई यसरी कस्न, बाँध्न । मेरा स्तन मात्र कहाँ हो र मेरो पुरै शरीर, मेरा भावना, मेरो बिचार, मेरो चाहना र मेरा रहरहरू पनि कहाँ पो स्वतन्त्र छन् र ? यी पनि बाँधिएकै छन् कसिएकै छन्। । समाजले निर्धारण गरेको कथित संस्कारको नाममा ।
एकै छिन सोचौँ त हामी महिलालाई अलि बढी हासे बोले उत्ताउली हुने, हाँस्ने बोल्ने बानी पनि जकडिएर राखिएको छ । आधुनिक पहिरन र शृङ्गार गर्दा नक्कली भनिन्छु भन्ने डरले बाँधिनु पर्या छ , कामकै व्यस्तताले अलि अबेर घर पुगे चरित्रमा प्रश्न उठ्ने so called  संस्कारले आफ्नो प्रगति र सफलतालाई समेत समयको पाबन्दीमा बाँधेर राख्नु पर्या छ ।

आफ्ना कुरा मिल्ने पुरुष मित्र वा सहपाठीसङ बसेर चिया पिउने छुट सम्म छैन सायद नाजायज साईनोको बिल्ला भिरिने डरले कति आफ्ना रहर र खुशी यसरी नै कस्नु पर्या छ ।
जसरी मेरो ब्राले मेरो स्तनलाई कसेर बाहिरी सुन्दरताको भ्रम श्रृजना गरे झैँ संस्कारी भन्ने भ्रमित सुन्दरताको नामले मेरा कति रहर चाहना र इच्छाहरूलाई बाँधेर कसेर राखेको छ । कहिले काहीँ सोच्छु यो संस्कार र परम्पराको नाममा मैले आफूलाई कहाँ कहाँ कसरी बाधेकी छु कहाँ कहाँ यसको पिडा आफैले मात्र सहेकी छु त्यो मलाई मात्र थाहा छ वा म जस्ती महिलाहरूलाई मात्र ।

हिँड्ने वा बेस्सरी कुद्ने बेला बाहेक अन्य कुनै पनि बेला मेरा स्तनले मलाइ बाधा पुगाउँदैनन् । तर पनि मेरा स्तनलाई मैले सिकेको संस्कार वा अरूले निरन्तरता दिएको संस्कारलाई मान्न बाँधेर राख्नु पर्छ । कसैलाई लाग्ला तिमिले नबाँधेर राखे भइगयो नि । तर मैले यिनलाई नबाँधे म के के कहलिन्छु मैले माथि नै भनी सके । खासमा यो संस्कारको पाठ पढाउनेले स्तन हल्लिनु स्वाभाविक मानेर त्यसलाई कामुकतासङ नजोडिदिएको भए किन अरूका गलत नजर यस माथि पर्थे होला र ? अरूले नराम्रो भने पछि पक्कै पनि मन सबैको दुख छ । त्यसैले अरूले कुरा काट्ने मौका नपाओस् भनेर पनि यो मैले मेरा स्वतन्त्र अङ्ग र इच्छाहरूलाई दबाएर कसेकी हुन्छु । आफ्नै शरीरमा पनि अरूको हक लाग्ने महिला हौ । जब साँझ पर्छ म घरका सारा जिम्मेवारी पुरा गरी सुत्ने तयारी गर्छु, मेरा स्वतन्त्र अङ्गलाई स्वतन्त्र दिएर ब्रालाई कोठाको कुनामा मिल्काउँछु अनि मात्र हल्का, खुल्ला  र स्वतन्त्र महशुस गर्दछु ।स्वतन्त्र भई श्वास फेरे जस्तो मैले महशुस गरीराछु यसैलाई हेरेर रोमाञ्चित हुन्छु ।
अनि आफै उत्तर दिन्छु अरे यो त हामी महिलाको गहना हो प्रकृतिले दिएको वरदान, सुन्दरताको आकर्षणको उत्कृष्ट उपहार हो । फेरी यही निराश हुन्छु उसो भा यति राम्रो यति सुन्दर उपहार दुनियाँको अघि  चैँ किन गलत जस्तै गरी छोप्नु पर्ने ,कस्नु पर्ने,जान अनजान अलिकति देखिए पनि पापै लाग्ला जस्तो गरी ढाक्नु पर्ने ,लज्जाको परकाष्ट बेहोर्नु पर्ने ,लाज नभाकी कहलिनु पर्ने  उफ्।
म आफू आफैसँग द्वन्द्व गर्दछु मेरो शरीरको उही हिस्सा श्राप र वरदान दुवै कसरी हुन्छ?
कहिले काँही सोच्छु, यही स्तन ठुला र पोटिला हुँदा आकर्षक देखिन्छ । पुरुष मात्र होइन महिलाले पनि सुन्दरताको मानक यसैलाई बनाएका छन् । त्यसैले त स्तनलाई आकर्षक बनाउन विभिन्न उपायका साथ सर्जरी नै गरेका उदाहरण पनि हाम्रै नेपालमा छन् । यदि महिलाको सुन्दरताको लागि स्तन यति आवश्यक हो भने किन एउटी आमा, हजुर आमा, भाउजू फुपूले किन छातीलाई लुकाउन सल ओढ्न सिकाउँछन् । ओढेको चुनरी वा सल घाटीमा बेर्दा पनि गलगाँड छोप्ने हो र घाटीमा बेरेकी तल झार भन्छन् ? अब ठुली भैसकीस यसरी उफ्रेर खेल्न हुँदैन बडी खुलेको लुगा लगाउन हुँदैन भनेर किन मलाई ब्रेक लगाईएको थ्यो होला? मेरो एकजना साथीलाई स्कुल पढ्दा खेलकुदमा निकै रहर थियो । निकै फुर्तिली र बलियो शरीर भएकी उ सानो छदा एथलेटिक्सका खेलमा फर्स्ट पनि आउँथी । तर ८ कक्षा पढ्दै गर्दा उसको स्तन पलाउन थाले पछि स्तन हल्लिन्छ भनेर उसले खेल्नै छोडी । के पुरुषले उसको शरीरमा भएको प्राकृतिक वृद्धिको कारण यसरी कुनै रहर वा सिपलाई त्याग्नु परेको होला ?
अन्त्यमा,
हाम्रा स्तनलाई आकर्षक देखाउन ब्राले कस्न लगाए जस्तै, संस्कारी सुशील देखिनको लागि महिलालाई पितृसत्तात्मक समाजले अनेक बहानामा जकडेर, कसेर राखेको छ । यो आलेखले संवदेनशिल अङ्गको स्वतन्त्रको उदाहरण दिए पनि यसको एउटै सन्देश भनेको अबका महिलाले श्वास चैँ नकसीकन स्वतन्त्रतापूर्वक खुशीले फेर्ने पाउनु पर्छ  ।

 

 



प्रतिक्रिया