काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक निकायका वेबसाइटमा विवरण अद्यावधिक गर्न र गुनासोको तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ।
कार्यालयले सबै मन्त्रालय, आयोग र सचिवालय, सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई आज (सोमबार) परिपत्र गरेर विवरण अद्यावधिक गर्न तथा सर्वसाधारणका गुनासो सम्बोधन गर्न निर्देशन दिएको हो।
परिपत्रमा विभिन्न निकायका वेबसाइटमा कार्यालय प्रमुख, प्रवक्ता तथा सूचना अधिकारीको विवरण अद्यावधिक नभएको, कार्यालयका टेलिफोन तथा मोबाइल नम्बर नलाग्ने सम्बन्धी गुनासा प्राप्त भएको उल्लेख गरिएको छ।
परिपत्रअनुसार सम्बन्धित निकायमा कार्यरत कर्मचारीहरूको नाम, मोबाइल नम्बर र इमेल ठेगाना कार्यालयको वेबसाइटमा तत्काल अद्यावधिक गर्न भनिएको छ।
कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीले कार्यालयको मोबाइल फोन अनिवार्य रूपमा कार्यालय समयभरि सञ्चालनमा राखी नागरिक तथा सेवाग्राहीले माग गरेका सूचना तथा गुनासोको तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।