बाजुरामा अनौठो परम्परा, राँगा जुधाएर दशैंको स्वागत

Jhalkonepal

बाजुरा- बाजुरामा दशैंको सुरुवात एकदमै फरक र रोचक तरिकाले गरिएको छ। जिल्लाका स्थानीयले परम्पराअनुसार राँगा जुधाएर बडादशैंको स्वागत गरेका हुन्।

सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–८, बाउलीमा प्रत्येक वर्ष घटस्थापनाको अघिल्लो दिन राँगा जुधाउने परम्परा रही आएको छ। यसै परम्परालाई जोगाउँदै, यस वर्ष पनि रावलबाडा र थापाबाडाका गाउँलेहरूले आफ्ना-आफ्ना राँगा भिडाएका थिए। प्रतिस्पर्धामा थापाबाडाको राँगाले विजय हासिल गरेको छ।

स्थानीय धने थापा भन्छन्, 'लेकबाट भैंसी झारिसकेपछि दशैंको अघिल्लो दिन हामी गाउँलेहरू कसको राँगामा बढी बल छ भनेर जुधाउने चलन छ। यो हाम्रो पुरानो परम्परा हो।'

देशका अन्य भागहरूमा दशैं जमरा राखेर र देवी पूजासँग सुरू भए पनि बाजुरामा भने राँगाको जुधाइमार्फत चाडको सुरुवात गरिन्छ। यो परम्परा केवल रमाइलोका लागि मात्र नभई, पशुपालनको सीप र गाउँबीचको आत्मीयता देखाउने माध्यम पनि बनेको छ।

प्रतिक्रिया