'आत्मग्लानीको भित्ताभित्र एउटा उज्यालो महिला'

Jhalkonepal

काठमाडौं- काठमाडौंको एक हलमा, माइक अगाडि उभिएकी थिइन्, नेपालकी पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी। उनी बोल्दै थिइन्, तर त्यो स्वर कुनै पदको होइन, त्यो आवाज थियो—दशकौं लामो सङ्घर्षको, त्याग र प्रतिबद्धताको, र आफूभित्रैको द्वन्द्वको पनि।

'श्रीमती हुँदा कहिल्यै ग्लानी भएन,' उनी भन्छिन्, 'तर पेसामा आत्मग्लानी भयो।'

यो भनाइ साधारण थिएन। यसले एक व्यक्तिको गहिरो अन्तरमन उजागर गर्‍यो, समाजले उनलाई महिलाको रूपमा स्वाभाविक रूपमा स्वीकार गर्‍यो, तर पेशागत दुनियाँमा बारम्बार आत्मग्लानीले प्रश्न गर्‍यो, 'के म यहाँ हुन लायक छु?'

सविता भण्डारीको यो कथन एक जनाको मात्र कथा होइन, यो त्यो हजारौं महिलाको कथा हो, जसले इतिहास र परम्पराका कठपुतली धागाहरू चिरेर आफूलाई स्थापित गरे।

तीन तहको सत्ता र न्याय प्रणालीका उच्च पदहरूमा महिला प्रतिनिधित्व पुगेको बेला—राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख र महान्यायाधिवक्ता—सबै महिलाले सम्हालेका छन्। यो परिवर्तन सामान्य लाग्न सक्छ, तर यो 'आएका छौं अब हामी' भन्ने भनाइले गर्व र परिवर्तनको भाव बोकेको छ।

'म यो ठाउँमा पुग्न धेरै संघर्ष पार गरेर आइपुगेकी हुँ,' उनले भनिन्। यो वाक्य उनीजस्ता हरेक महिला सरकारी वकिलका लागि सन्देश थियो, कठिनाइहरू आउँछन्, आत्मग्लानी पनि, तर तिनै भित्ताभित्रबाट उज्यालो पनि निस्कन्छ।

कार्यक्रममा महिला सरकारी वकिलहरूको सशक्तिकरण, न्यायिक प्रणालीमा लैङ्गिक समानता र नेतृत्व विकासमा विशेष चर्चा भयो। त्यही अवसरमा, भण्डारीले न्यायिक इतिहासको सुरुवातबारे स्मरण गरिन्,वि.सं. २००८ मा पहिलो महान्यायाधिवक्ताको नियुक्तिबाट सुरु भएको यात्राको।

'सात दशक लामो यो यात्रा सरकारको हकहितको संरक्षणमा सरकारी वकिलहरूले दिएको गौरवपूर्ण योगदानको प्रमाण हो,' उनले थपिन्।

उनको आत्मग्लानीलाई लाजको रूपमा नभई, आत्मसमीक्षा र सुधारको यात्राको प्रतीकका रूपमा लिन सकिन्छ। जब एक महिलाले नेतृत्वको ठाउँमा पुगेर भन्छिन्,‘आत्तिनु हुँदैन’, त्यो केवल अभिव्यक्ति होइन, त्यो निर्देशन हो, पछाडिबाट आउन खोज्नेहरूलाई।

आज भण्डारी एक इतिहासको हिस्सा मात्र होइनन्, उनी आफैँ इतिहास बनाइरहेकी छन्। पार्बती साउद

प्रतिक्रिया