काठमाडौँ, कात्तिक २६ : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ IFRC ले ‘जाजरकोट भूकम्प’ पीडितका लागि राहत तथा प्रतिकार्य प्रयासलाई अभिवृद्धि गर्न आपत्कालीन अपिल जारी गरेको छ ।
उसले आफ्ना कार्यादेश अनुसार विपद् पीडितलाई राहत, प्रतिकार्य तथा पुनर्लाभका लागि सहयोग उपलब्ध गराउन यस्तो अपिल जारी गर्ने गर्दछ । आइएफआरसीले ‘जाजरकोट भूकम्प’ पीडितका लागि स्वीस फ्रयाङ्क ५० लाख बराबरको आपत्कालीन सहयोगको लागि अपिल जारी गरेको हो । आइएफआरसीले विसं २०७२ वैशाखको विनाशकारी भूकम्प पीडितका लागि पनि आपत्कालीन अपिल जारी गर्दै मानवीय सेवा उपलब्ध गराएको थियो ।
IFRC ले नेपाल रेडक्रस सोसाइटी मार्फत हाल जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई आवास र गैरखाद्य सामग्री–नगद वितरण आकस्मिक आवास, तारपोलियन, म्याट्रेक्स, ब्ल्याङ्केट, बुकटेस०, स्वास्थ्य , मनोसामाजिक, परामर्श० सरसफाइ,जीविकोपार्जन तथा अत्यावश्यक वस्तु उपलब्ध गराउने कार्यलाई एकीकृत रूपमा उपलब्ध गराइ राखेको छ । राहत वितरणका साथमा भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्ने यहाँस्थित आएफआरसी कार्यालयले जनाएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते राति छ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा अकल्पनीय जनधनको क्षति हुन पुगेको थियो । भूकम्पमा एक सय पचासभन्दा बढीले अकालमा ज्यान गुमाउनुपरेको छ । भूकम्पबाट प्रारम्भिक तथ्याङ्कानुसार ३० हजार घर पूर्णरूपमा अथवा आंशिकरूपमा क्षति भएको र ३८ हजार परिवार प्रभावित भएको जनाइएको छ ।