कीर्तिपुरमात्र होइन नेपालको हरेक डाँडामा बसेर लाखौ कमाउन सकिन्छ : सुदूरपश्चिममा सूचना प्रविधिको काम गर्ने पहिलो व्यक्तिसंगको कुराकानी

Jhalkonepal

सूचना प्रविधि (आइटी) अध्ययन र रोजगारीको लागि नेपालमा मात्र नभइ विश्वभरी नै युवाहरुको रोजाईको विषय बनेको छ । नेपालमा पनि पछिल्लो समय सूचना प्रविधिको विकास तिव्र गतिमा भइरहेको छ ।  देशमा २०६२/६३ को राजनीतिक परिवर्तन पछि सूचना प्रविधिको विकासले तिब्रता पाएको थियो । विशेष गरि इन्टरनेटको विस्तारले सूचना प्रविधिका अरु आयामलाई अघि बढन र दुरदराजमा पुग्न मद्दत गरेको थियो । देशको अन्य भागको तुलनामा पछि परेको सुदूरपश्चिममा पनि यति बेला दर्जनौ शैक्षिक संस्थाहरुमा सूचना प्रविधिको अध्यापन भइरहेको छ । युवाहरुले सूचना प्रविधिलाई नै आफ्नो रोजगारीको माध्यम बनाएका छन । भारत लगायत अन्य देशहरुमा गएर सूचना प्रविधिकै काम गरिरहेका युवा थुप्रै भइसकेका छन भने कतिपयले देश भित्रै यसलाई स्वरोजगारीको माध्ययम बनाएका छन । यसरी स्वदेशमै बसेर सूचना प्रविधिलाई कर्म बनाएका मध्ये एक हुन बैतडीका मनोज कुमार सिनाल । 

सिनालले २०५५ साल तिरै भारतको दिल्लीमा सूचना प्रविधिको अध्ययन गरि, यसैलाई आफ्नो रोजीरोटी बनाएका छन । सुदूरपश्चिममा सूचना प्रविधिलाई आफ्नो कर्म बनाउने मध्ये आफु पहिलो भएको उनी दावी गर्छन । उनले २०५६ सालमा डेस्टिनी इन्फोटेक (लक्ष्य सूचना प्रविधि) नाम राखेर कंचनपुरको महेन्द्रनगरबाट व्यवसाय शुरु गरेका थिए । 

२०५६ मा सिनालले शुरु गरेको डेस्टिनी इन्फोटेकको साइन बोर्ड

नेपाल सरकारको पहिलो जब पोर्टल (श्रम रोजगार मन्त्रालयले रोजगारीको जानकारी दिन बनाएको वेभसाइट) मनोजकै कम्पनी डेस्टिनी इन्फोटेकले बनाएको थियो  । २०७२ सालमा नेपाल सुनचाँदी व्यवसायी महाँसंघले देशभरिका सुनचाँदी व्यवसायीहरुलाई एकैपटकमा सुनचाँदीको दररेट हेर्न मिल्ने सफ्टवयर जडित डिस्प्ले बोर्ड निर्माणको जिम्मा सिनालको डेस्टिनी इन्फोटेकलाई दिएको थियो । सफ्टवयर जडित डिस्प्ले निर्माण भए पछि नेपालभरिका सुनचाँदी व्यवसायीलाई सोही बोर्डको प्रयोग गर्न महासंघले आग्रह गरेको छ । देशभरीमा ५०० भन्दा वढि सुनचाँदी व्यवसायीहरुले सोही बोर्ड आफ्नो शोरुममा राखेर ग्राहकलाई सुनचाँदीको मुल्यबारे आधिकारीक सूचना दिइरहेका छन ।  

सुदूरपश्चिमको महेन्द्रनगरबाट शुरु गरेको डेस्टिनी इन्फोटेकको यात्रा र सूचना प्रविधिको विषयमा झल्को नेपालकी रुमा रिजालले डेस्टिनी इन्फोटेकका कार्यकारी प्रमुख मनोज कुमार सिनालसँग गरेको कुराकानी -

प्रश्न : तपाई सूचना प्रविधिको क्षेत्रमा निकै अगाडी देखि हुनुहन्छ । खासमा सुुदूरपश्चिममा सूचना प्रविधिको विकास कसरी भयो ? नेपालको अन्य क्षेत्रको तुलनामा सुदूरपश्चिमको अवस्था कस्तो छ ?

सुदूरपश्चिम र नेपालमा सूचना प्रविधिको बिकास लगभग सँगसँगै भएको देखिन्छ ।  पचासको दशक अन्त्य तिर सुदूरपश्चिममा पनि इन्टरनेट चल्न शुरु भएको थियो । भिसेट प्रविधि र डायलअप कनेक्सनबाट इन्टरनेट प्रयोग हुन्थ्यो । यद्दपी यसको विस्तार भने २०६३ साल पछि मात्र भएको थियो । काठमाण्डौमा साइवर क्याफेमा गएर इन्टरनेटको प्रयोग हुने बेला देखि नै धनगढ़ी  र महेन्द्रनगरमा पनि साइबर क्याफे खुली सकेका थिए । एक घण्टाको १२० रुपिया सम्म पनि शुल्क तिरेर मानिसहरुले इन्टरनेट चलाउथे तर महँगो भएकोले सर्वसाधारणको पहुँच भने निकै कम थियो । 

कम्प्यूटर , फ्लॉपी डिस्क, कम्पैक्ट डिस्क बेच्ने पसलहरु खुलेका थिए । गैर सरकारी संस्था र केही सरकारी कार्यालयमा कम्प्यूटरमा इन्टरनेटको सामान्य प्रयोग हुन थालेको थियो । माइक्रोसफ्टका आफिस प्याकेजहरु सिकाउने इन्स्टिट्यूटहरुमा डायल अप कनेक्सनको इन्टरनेटबाट ईमेल चलाउन सिकाइन्थ्यो ।  २०५६ सालमा नेपाल राष्ट्रिय समाज कल्याण संघ , कंचनपुर (NNSWA) ले मलाई नै कन्सलटेंट नियुक्त गरेर बनाएको वेबसाइट www.nnswa.org सम्भवतह यस क्षेत्रमा ब्यवसायिक स्तरबाट बनाइएको पहिलो वेबसाइट हुनुपर्छ । 

सूचना प्रविधिको शुरुवात नेपाल र सुदूरपश्चिममा संगसँगै भएपनि विस्तारको दृष्टिकोणले भने अहिले यो क्षेत्र (सुदूरपश्चिम) अरु क्षेत्र भन्दा पछि परेको जस्तो देखिन्छ । मानिसको दैनिक जीवनमा यसको अपरिहार्यता बढे पनि अझै उद्योग र रोजगारीको अवसर श्रृजना गर्ने कुरामा भने निकै पछि नै छ । तर सम्भावना भने अपार छ ।


प्रश्न : के कुराले सूचना प्रविधिको क्षेत्रमा आइपुग्नु भयो ?

चाडो आत्मनिर्भर बन्न सकिने कुराले नै यस क्षेत्रमा पुगियो र २०४८ सालमा काठमाण्डौं डिप्लोमा तहको इन्जीनियरिंग पढ्न गए तर प्रवेस परिक्षामा पछि परे । त्यसपछि विज्ञान विषय लिएर आइएससी पढ्न थाले । इन्जिनियिरिंग दिमागबाट हटेको थिएन । त्यसैले भारतको केरला गएर पढे । त्यहाँबाट प्लस टु सकेर नेपालमा स्नातक तहमा इन्जिनिरिंग पढ्ने सोचेको थिए । फेरी पनि नाम निकाल्न सकिन । त्यसपछि भने भारतको दिल्ली गएर बाणिज्य क्षेत्रमा स्नातक गर्दै गर्दा त्यहाँ सूचना प्रविधिको विकास र त्यसमा युवाहरुको चासोलाई देखे पछि सूचना प्रविधि क्षेत्रमा पसियो ।

प्रश्न : सूचना प्रविधिको विकासमा तपाईले गरेको महन्वपूर्ण योगदान के हो ?

यो मैले आफैले भन्ने भन्दा पनि समाजले मूल्यांकन गरेर दिने हो । तर पनि आफुले गरेको कामहरु मध्ये तीन वटा काम चाही केही फरक गरेकै हु जस्तो लाग्छ ।

पहिलो -  २५ बर्ष पहिले फ्लपी डिस्कमा सेव गरेर बनाइएका प्रोग्रामहरु आज सुन्दा अनौठा र सामान्य लागे पनि त्यों बेला तिनै कामहरुले यस क्षेत्र (सुदूर पश्चिम) मा सूचना प्रविधि को बीउ रोपेको कुरालाई नकार्न मिल्दैन । २०/२५ बर्ष पहिले स‘फ्टवेयर र वेबसाइटहरु बनाएर यस क्षेत्रमा मानिसहरुको ब्यवसाय र अन्य सामाजिक कार्यहरुलाई विश्व सामु जोड्ने कामको शूरु भएको हो । अहिले मानव जिवनको अभिन्न अंग बनेको सूचना प्रविधिको सुदूरपश्चिमममा पाइला त्यसैबाट शुरुवात भएको हो । अहिले जस्तो विकेन्द्रित राजनितिक व्यवस्था भइदिएको भए । ब्रोडव्याण्ड इन्टरनेट काठमाण्डौं भन्दा पनि छिटो सुदूरपश्चिममा भित्रिन्थ्यो । मैले त्यसको सम्भाव्यता अध्ययनको लागि भारतका केही कम्पनीहरुलाई सुदूरपश्चिममा ल्याएर एक तहको सर्वेक्षण पनि गरेको थिए । यदपी त्यो बेलाको राजनितिक व्यवस्थाका कारण त्यो सफल हुन सकेन ।  

दोस्रो - प्राबिधिक कठिनाई र संकटकालमा पनि सुदूरपश्चिममा ५० भन्दा बड़ी सूचना प्रविधिका प्रोजेक्टहरु बनाए । त्यसपछि २०६८ सालदेखि मैले काठमाण्डौमा डेस्टिनी इन्फोटेक कार्यालय स्थापना गरे । नेपाल सरकारको श्रम तथा रोजगार मन्त्रालय मार्फतको नेपालकै सरकारी स्तरबाट संचालन भएको पहिलो जब पोर्टल निर्माण गरे । श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको सो अनलाइन जबपोर्टल रोजगारदाता र बेरोजगारहरु बीच प्रत्यक्ष सम्पर्कको आधिकारिक प्लेटफार्म बन्यो । मेरो कम्पनीसँगको सम्झौता सकिए पछि हाल भने त्यो साइट चलेको छैन । 

तेस्रो - २०७४ सालमा  डेस्टिनी इन्फोटेकले नेपाल मै सबैभन्दा पहिला बनाएको अनलाइन रेट अपडेट सिस्टमले बिभिन्न वस्तुहरु विशेषगरी सुन,इन्धन र मुद्राको दैनिक दरभाऊ अपडेट डिजिटल डिस्प्ले बोर्डमा देखाउन सकिने प्रणालीको बिकास गर्यो । यसले ग्राहक र बिक्रेताको बीचमा पारदर्शिता र बिश्वासको वातावरण सृजना गर्न निकै राम्रो भूमिका निभाएको छ । खासगरी नेपालमा सुनचाँदीको दरभाऊ जिल्ला पिच्छे नै फरक हुने हुँदा  यस प्रणालीको प्रयोगले यस क्षेत्रका ब्यवसायीलाई भएको सहजताले नेपाल सुनचाँदी ब्यवसायी महासंघले समेत डेस्टिनी इन्फोटेकका डिजिटल बोर्डमा आएको दरभाऊलाई मान्यता दिएको छ ।  

यही क्रममा यस अनलाइन डिजिटल डिस्प्ले सिस्टम प्रोजेक्टमा बिदेशी कम्पनीसंग पनि सहकार्य गरी सूचना प्रबिधि क्षेत्रमा बिदेशी लगानी भित्र्याउन सफल भएको थियो । जसको उद्देश्य यस क्षेत्रमा रोजगारी सृजना गरी अझै यसलाई सुदृढ़ बनाउनु थियो ।

प्रश्न : तपाइको योगदानलाई दावी गर्ने आधार के हो ?

मेरो कम्पनीले गरेको कामहरुको विवरण इन्टरनेटमा अझै पनि उपलव्ध छन । कतिपय संस्था वा कम्पनीको वेवसाइट अहिले बन्द रहे पनि तीसंस्थाहरु सँग काम गर्दाको सम्झौता र नविकरणका विवरणहरु छन । सफ्टवयरहरुको हकमा त्यों बेलाको मिति रेकर्ड भएका सी डी ड्राइव र अफलाइनमा उपलव्ध प्रोजेक्ट सबै सुरक्षित नै छन । 

प्रश्न : तपाईले कम्पनीले गरेको सूचना प्रविधिका मुख्य उपलव्धी के हो ?

सुदूरपश्चिममा सूचना प्रबिधिको बीउ रोप्ने कार्य नै डेस्टिनी इन्फोटेक पहिलो महत्वपूर्ण कार्य हो भने नेपाली सूचना प्रबिधिको क्षेत्रलाई उद्योगमा परिणत गर्दै रोजगारी सृजना गरी देशको अर्थतन्त्रलाई टेवा पुर्याउन सानै भएपनि डेस्टिनी इन्फोटेक प्रा लि र यसका आबध्द कम्पनीले खेलेको भूमिकाले नेपालमा सूचना प्रबिधिको बिकासमा स्थान राख्दछ ।   

प्रश्न : तपाईले गरेको कामको चर्चा किन भएको छैन । अहिले आइटीका धेरै प्रोफेसनलहरु नेपाली बजारमा छन । तपाईको कम्पनी वा तपाई के कुरामा अरु भन्दा पृथक हुनुहुन्छ?

उपभोक्ताहरुका बीचमा केहि चर्चा छ पनि र सम्बन्धित क्षेत्रका संस्थागत निकायहरुले पनि मेरो कामलाई आधिकारिक पहिचान गरेका छन ।तर त्यों कुनै सिमित क्षेत्र र दायरामा रह्यो की जस्तो लाग्छ । २०५० को दशक देखि अहिले नेपाली आई टी क्षेत्रमा धेरै परिवर्तन आएको छ र धेरै प्रोफेशनल आउनु सुखद पनि हो । मैले अध्ययन गर्दा यो क्षेत्रमा हुन सक्ने यस्तो परिवर्तनको कक्षा गफमा चर्चा भएपनि भई नै हाल्छ जस्तो लाग्दैन थियो । मेरो कम्पनी अन्य भन्दा आधारभूत रूपमा फरक छ जस्तो लाग्दैन । सबैले सूचना प्रविधिलाई नै अनेक प्रकारले प्रवाह गर्ने हुन । तरपनि कुनै सूचनालाई अनलाइन र दूरस्थबाट कुनै डिवाइसको माध्यमबाट देखाउने कुरा चाही हाम्रो अलि पृथक छ । तर केवल मेरो कम्पनीले मात्र यो गर्छ भन्ने चाही होइन र सुरुवात चाँही मेरै कम्पनीले गरेको हो । 


प्रश्न : सूचना प्रविधि प्रति नेपाल सरकारको नीति कस्तो छ र वर्तमान नीतिले यो क्षेत्रलाई कतिको सजिलो असजिलो बनाएको छ ?

सरकारको नीतिको स्पस्ट, ठोस र उपलब्धि पूर्ण छ जस्तो लाग्दैन।  यसले असहज न गरे पनि सहज हुने कुनै वातावरण बनाएको पछि छैन । आज भारत सफ्टवयर क्षेत्रको केन्द्र र चीन हार्डवेयर र इलेक्ट्रोनिक्स क्षेत्रको केन्द्र बनेको छ । राजनितिक रुपमा नेपाल दुई ठुला शक्तिको विचमा रहेको देश जस्तै सूचना प्रविधिका मुख्य दुई आयाम सफ्टवयर र हार्डवयरका ठुला उत्पादकहरुको विचमा छौ । दुई ढुंगा विचको तरुल बनेर हामीले यसका फाइदा लिनु पर्ने हो । हाम्रो नीति पनि त्यस्तै हुनु पर्ने हो । तर सूचना प्रविधिको सन्दर्भमा सरकारले त्यस्तो नीति बनाएको जस्तो मलाई लाग्दैन । यस्तो नीति बनाएर देशमा सूचना प्रविधिकै क्षेत्रबाट रोजगारीको अवसर श्रृजना गर्न सकिन्छ । जसले सानौ आम्दानी गर्न पनि विदेश जाने युवाहरुको पलायनलाई पक्कै कम गर्न सक्छ । बिशिष्ट  सिप भएका आईटी प्रोफेशनलले विश्व बजारमा ठूलो आय र सम्मान प्राप्त गर्न सक्छन । सरकारले पब्लिक र प्राइवेट पार्टनरशिपको अवधारणामा बिशुद्ध ब्यवसायिक जनशक्ति उत्पादन र तिनको उपयोग गर्न सक्नु पर्ने हो । तर सरकारको ध्यान यसमा छ जस्तो लाग्दैन ।

प्रश्नः आइटीको प्रोफेसनल भएर नेपालमै बस्ने की विदेशमा गएर राम्रो कमाउने ?

आईटीको प्रोफेसनल भएर सकेसम्म नेपालबाट नै बिदेशीलाई आफ्नो सेवा र उत्पादन बेचेर राम्रो कमाउने । बिदेश गएर पनि सम्मानित र उच्च आय आर्जन गर्दा पनि न राम्रो चाही होइन । तर यो क्षेत्र भनेको जहाँ बसेर पनि संसारसँग जोडिने काम हो । त्यसैले म भन्छु राम्रो आइटी विज्ञ भएर देशमै बसेर विदेशबाट कमाउनु पर्छ । 

प्रश्न : सुदूरपश्चिमको सिमान्त परिवारबाट यो क्षेत्रमा कसरी आइपुग्नु भयो ?

खासमा चाडो भन्दा चाडो ब्यवसायिक क्षेत्रमा प्रवेश गर्नु पर्छ । कसरी जागिर वा ब्यवसाय गर्दा स्वतन्त्र ढंगले गर्न सकिन्छ भन्ने सोचिरहेको थिए । त्यही बेला अत्यन्त नयाँ र सम्भावना बोकेको क्षेत्र सूचना प्रविधिको हो भन्ने कुरा बुझ्ने मौका पाए । अनि यता आईयो र सीमान्त र अल्पसंख्यक परिवारबाट आए पनि मैले त्यस्तो शिक्षा हासिल गर्न आर्थिक र अन्य कठिनाई चाही कहिले भोग्नु परेन र बरु स्कूल देखि स्नात्तकोत्तर तह सम्म बैतड़ी, काठमाण्डौ, केरला, दिल्लीका स्तरीय संस्थाहरुमा अध्ययन गर्न पाए । यसमा मेरो बुवाको आफ्नो बच्चालाई जसरी पनि उच्च र स्तरीय शिक्षा दिलाउने चाहनाले पनि ठूलो भूमिका खेलेको छ । 

प्रश्न : केही दिन पहिले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने जस्तो किर्तिपुरको डाँडामा मात्र हो की नेपालको दुरदराजबाट पनि महिनामा लाखौ कमाउन सकिन्छ ?

विश्वव्यापी परिबेशमा कीर्तिपुरको डाँडा र नेपालको दूरदराज उस्तै हो । एकातिर नेपाल नै दूरदराज हो भने अर्को तिर इन्टरनेट फुलस्पीडको र एउटा राम्रो कम्प्यूटर वा स्मार्ट फोन हुँदा संसार नै क्लिक भरमा समेटिएको हुन्छ । भौतिक दुरी ले फरक पर्दैन र मैले काम शुरू गर्दा काठमाण्डौँको सम्पर्क थिएन तर दिल्ली को थियो । इन्टरनेट कनेक्ट हुन काठमाण्डौ नै हुनु पर्छ भन्ने छैन र सुदूरपश्चिमको हकÞमा त हामी भारतीय राजधानीसँगको निकट छौ । त्यसैले हाम्रो इन्टरनेट जोडिएको कम्प्यूटर सिलिकन भ्याली र बौग्लोरको सम्पर्कमा हुनु पर्छ, यही बसेर लाखौ होइन बड़ी पनि कमाउन सकिन्छ ।


प्रतिक्रिया