नयाँ प्रविधिसँगै हराउँदै गयो दशैंको पुरानो स्वाद

Jhalkonepal

काठमाडौं- नेपालीहरूको परम्परा, संस्कृति र सामूहिकतामा आधारित महान् चाड दशैं समयसँगै रुप बदल्दै गएको छ। विशेषगरी पछिल्लो पुस्तामा बढ्दो प्रविधि प्रयोग र डिजिटल जीवनशैलीसँगै दशैंको पुरानो रौनक हराउँदै गएको देखिन्छ।

कुनै समय थियो, जब छतमा चंगा उडाउने, गाउँघरमा पिङ गाड्ने, आँगनमा घर लिपपोत गर्ने, र देवीपूजामा सामेल हुने परम्परा दशैंको पर्याय मानिन्थ्यो। तर अहिले, यिनै दृश्यहरू केवल स्मृतिमा सीमित हुन थालेका छन्।

सहर त सहर, अब गाउँका घरहरू पनि सुनसान देखिन थालेका छन्।छतहरूमा चंगाको उचाइ नाप्ने प्रतिस्पर्धा छैन,

टोलको रुखमा झुन्डिएको पिङ हराएको छ, घरका जेठाले हातले दिने खामलाई मोबाइलको स्क्रिनमा आएको ‘बैंक ट्रान्सफर’ ले विस्थापित गरेको छ।

सिन्धुपाल्चोक घर भइ भक्तुरमा बस्दै आएका ६५ वर्षीय शिवप्रसाद भन्छन्, “पहिला हामी बिहानैदेखि चंगा उडाउँथ्यौं, पिङ खेल्थ्यौं, मन्दिर जान्थ्यौं। सबै मिलेर रमाइलो गर्थ्यौं। अहिलेका बालबालिका मोबाइलमै रमाउँछन्।”

उनका अनुसार प्रविधिले जीवन सजिलो त बनाएको छ, तर परम्परागत रमाइलोपन, आत्मीयता र सामूहिकता खोसेर लगेको छ। अहिलेका युवा पुस्ता दशैंलाई विकेन्ड वा अनलाइन अफरको रूपमा बुझ्न थालेका छन्। कसैले नयाँ फोन किन्ने बहाना बनाउँछन्, कसैले विदेशमा बसेर भिडियो कलमा टीका लिन्छन्। दशैंको संस्कारभन्दा बढी सुविधा खोज्ने प्रवृत्तिले गहिरो सांस्कृतिक क्षति पुर्‍याइरहेको समाजशास्त्रीहरू बताउँछन्।

सांस्कृतिक अनुसन्धानकर्ता डा. सविता उप्रेती भन्छिन्, “दशैं केवल मासु खान र टीका थाप्ने पर्व होइन, यो हाम्रो पहिचान, पीढीको सम्बन्ध र सामूहिक संस्कृतिको वहक हो। प्रविधिको सही प्रयोग स्वागतयोग्य हो, तर त्यो हाम्रो जरा उखेल्ने खालको भए चिन्ताको विषय हो।”

उनका अनुसार चाडपर्वलाई समयअनुसार ढाल्नु सकारात्मक प्रक्रिया हो, तर त्यो ढालाइ परम्परा विस्थापनको माध्यम बन्नु हुँदैन।

मन्दिरहरूमा पहिलेझैँ लामो लाइन देखिँदैन, घर–घरमा देवीको पूजा पहिलेझैँ धुमधामसँग हुँदैन, र आफन्तबीचको भेटघाट पनि सामाजिक सञ्जालको ुस्टोरीु मा सीमित हुँदै गएको छ।

पुराना पुस्ताका बुबा–आमाले टीकाको समयमा चंगा, पिङ र मन्दिर घुमेको सम्झन्छन् भने नयाँ पुस्ताका बालबालिका ‘सेल्फी लिऊँ है बा!’ भनेर मोबाइल समाउँछन्।

विशेषज्ञहरू सुझाव दिन्छन् कि विद्यालय र स्थानीय तहबाट संस्कृति–चेतना अभिवृद्धि गरिने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। चाडपर्वलाई केवल बिदाको रूपमा नभई सामाजिक र सांस्कृतिक शिक्षाको अवसरको रूपमा प्रयोग गर्न सकिने उनीहरू बताउँछन्। पार्बती साउद


प्रतिक्रिया