नेपाली महिलालाई भारत पुर्‍याएर चरम शोषण, बिचौलियादेखि सीमा नाकासम्म अनुसन्धान

Jhalkonepal

काठमाडौं। नेपाली महिला तथा युवतीलाई प्रलोभनमा भारत पुर्‍याई शोषण गर्ने गरेको समाचार सार्वजनिक भएपछि छानबिन प्रक्रिया अघि बढाइएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले घटनामा संलग्नता पुष्टि हुने व्यक्ति तथा सञ्जालमाथि कानूनबमोजिम कारबाही गरिने स्पष्ट पारेको छ।

मन्त्रालयले असोज ४ गते जारी गरेको विज्ञप्तिमा सार्वजनिक विवरणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयसँग आवश्यक समन्वय गरिसकिएको र सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई छानबिनका लागि निर्देशन दिइसकिएको उल्लेख गरेको छ।

विभिन्न सञ्चारमाध्यमका खोजमूलक समाचारमा नेपाली महिला तथा युवतीलाई झुटा आश्वासन र प्रलोभन दिएर बिचौलियामार्फत भारत लैजाने तथा शोषणमा पार्ने विषय उठाइएको थियो। मन्त्रालयले ती विवरणलाई प्रारम्भिक सूचनाका रूपमा ग्रहण गरी सत्यतथ्य पत्ता लगाउन प्रक्रिया अघि बढाइएको जनाएको छ।

छानबिनमा सम्बन्धित घटना, व्यक्ति, बिचौलिया, संस्था, सीमा नाका, यात्राको माध्यम तथा सम्भावित आपराधिक सञ्जाललाई समेटिनेछ। मन्त्रालयका अनुसार आवश्यक प्रमाण संकलन, सम्भावित पीडितको पहिचान र संरक्षण तथा संलग्न व्यक्तिको अनुसन्धानका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको छ। विज्ञप्तिमा पीडितको संख्या, आरोपितको परिचय वा पक्राउसम्बन्धी विवरण भने खुलाइएको छैन।

नेपाल–भारतबीचको खुला सीमाको दुरुपयोग गरी रोजगारी, विवाह, अध्ययन, वैदेशिक रोजगारी वा मनोरञ्जनका अवसरको प्रलोभनमा महिला, युवती तथा बालबालिकालाई सीमापार लैजाने र शोषण गर्ने गतिविधिमा संलग्नता पुष्टि भए कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ।

नेपाली नागरिकलाई सीमापार पुर्‍याउँदैमा नेपालको सरोकार समाप्त नहुने र त्यस्ता कार्यमा संलग्न व्यक्ति कानुनी कारबाहीबाट बच्न नसक्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले यस्ता कार्यलाई गम्भीर कसुरका रूपमा परिभाषित गरेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले अनुसन्धान र कारबाहीसँगै पीडितको उद्धार, संरक्षण, सुरक्षित घरफिर्ती तथा पुनर्स्थापनालाई पनि जोड दिएको छ। मानव बेचबिखन नियन्त्रणसम्बन्धी राष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार काम गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ।

यसैबीच, सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट आउने अस्वाभाविक रोजगारी, उच्च आम्दानी, विदेश यात्रा, विवाह, मोडलिङ तथा मनोरञ्जनसम्बन्धी आकर्षक प्रस्तावप्रति सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ।

वैदेशिक रोजगारी, अध्ययन वा यात्रामा जानुअघि सम्बन्धित व्यक्ति तथा संस्थाको आधिकारिकता यकिन गर्न र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ। राहदानी, नागरिकता, बैंक विवरण तथा अन्य व्यक्तिगत कागजात अपरिचित व्यक्ति वा बिचौलियालाई सहजै उपलब्ध नगराउन पनि मन्त्रालयले सुझाएको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्र बहादुर बुढाद्वारा जारी विज्ञप्तिमा मानव बेचबिखन, जबर्जस्ती वा प्रलोभनमा लैजाने प्रयास तथा सीमापार शोषणसम्बन्धी सूचना तत्काल सम्बन्धित निकायलाई दिन आग्रह गरिएको छ। यस्तो जानकारी नजिकको प्रहरी कार्यालय, सम्बन्धित सरकारी निकाय वा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई उपलब्ध गराउन सकिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया