काठमाण्डौ , फागुन १
गाजासहित प्यालेस्टाइनका विभिन्न क्षेत्रमा भीषण हमला
गरिरहेको इजरायलले फेरि अर्को ठूलो
आक्रमण गरिरहेको छ । इजरायलले राफाहमा अन्धाधुन्ध बम वर्षाउँदा एक सय जना भन्दा
धेरैको ज्यान गएको एफपीले जनाएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले साना बालबालिकासहित एक सय
जना प्यालेस्टाइनीको हत्या भएको र सयौँ घाइते भएको बताएको छ । रातको समयमा भएको
आक्रमणको थप विवरण सङ्कलन भइरहेको छ। राफाहमा १ लाख जना प्यालेस्टाइनीले शरण
लिइरहेका छन् । इजरायलले भने गएरातिको आक्रमणबाट २ जना बन्धकलाई रिहा गर्न सफल
भएको जनाएको छ ।
गएको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गर्दा २
सय ४० जना बन्धक बनाएकोमा अझै एक सय जना भन्दा धेरै हमासकै कब्जामा छन् । इजरायलले
गाजासहित प्यालेस्टाइनी सहरहरुमा गरिरहेको आक्रमणमा अहिलेसम्म २८ हजार ४ सय जना
भन्दा धेरै प्यालेस्टाइनीको ज्यान गइसकेको छ ।
यसैबीच नेदरल्यान्ड्सको एक अदालतले इजरायललाई एफ–३५ लडाकु
विमानको पाटपूर्जा बेच्न रोक लगाएको छ । इजरायलले गाजा आक्रमणमा प्रयोग गरिरहेको
यो विमानका कारण थप मानवीय क्षति हुन सक्ने भन्दै अदालतले पाटपूर्जा बेच्न रोक
लगाएको हो ।