काठमाडौं । कृषि विकास बैंक लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) लाई उपचारका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
फुटबल खेल्ने क्रममा घुँडामा लागेको चोटका कारण जटिल शल्यक्रिया तथा पुनःस्थापनाका लागि साम्बाले सार्वजनिक रूपमा सहयोगको अपिल गरेपछि बैंकले मंगलबार उक्त रकम हस्तान्तरण गरेको हो ।
बैंकका अनुसार ब्रान्ड एम्बासेडरसमेत रहेकी साम्बाको उपचार र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको हो । साथै, उनको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गर्दै चाँडै नै नेपाली राष्ट्रिय टोलीको जर्सीमा मैदानमा फर्किएको देख्न पाइने विश्वास बैंकले व्यक्त गरेको छ ।
१३ फाल्गुण २०८२, बिहिबार ०७:१९ मा प्रकाशित